अस्पताल परिसरबाहिर सुत्केरी भएको घटनामा मन्त्रालयको छानबिन टोली राजविराज जाँदै

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोली आजै राजविराज जाने भएको छ ।

मन्त्रालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य छानबिनका लागि पाँच सदस्यीय टोली खटाइएको जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका सदस्य डा. अजय शाहसहितको टोली आजै राजविराज प्रस्थान गर्नेछ । मन्त्रालयका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग राईमाझी पनि छानबिनका लागि टोलीसँगै जाने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनाबारे गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ । स्थलगत अध्ययन गरेर घटनाको वास्तविकता सार्वजनिक गरिने र छानबिनका क्रममा कसैको लापरबाही वा कमजोरी देखिए प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ ।

यसैबीच अस्पतालले पनि घटनाको आन्तरिक छानबिन गर्न छुट्टै समिति गठन गर्ने तयारी गरेको जनाएको छ ।

मन्त्रालयले उपचारका लागि स्वास्थ्य संस्थामा आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने स्पष्ट गर्दै घटनाको गम्भीर अध्ययन र आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Share News