सार्वजनिक सवारी साधनको नयाँ दर्तामा देशभर रोक, विद्युतीय सवारी पनि नपाइने
काठमाडौं । देशभर बढ्दो वायु प्रदूषण, तीव्र ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्तामा पूर्ण रोक लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै पर्यावरणमैत्री मानिने विद्युतीय (इलेक्ट्रिक) गुड्ने गाडीसहित कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न निर्देशन दिएको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा नागरिकको आवागमनमा दैनिक कठिनाइ उत्पन्न भएको, इन्धनको मूल्य लगातार बढेको र सडकमा सवारीको अत्यधिक चाप बढेकाले यस्तो असहज परिस्थितिलाई सम्बोधन गर्न यो कदम चाल्नुपरेको विभागले जनाएको छ । विभागले यो आकस्मिक निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको हो, जसमा वातावरण प्रदूषण, सवारीको चाप वा सडकको स्थितिका कारण सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी दर्ता रोक्न सक्ने कानुनी व्यवस्था छ । सार्वजनिक सवारी साधनको क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यका साथ लागू गरिएको यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि तत्कालै लागू हुने स्पष्ट पारिएको छ ।
ऋण खोजेर बिउ किनेका सोवितको कथा
सन्तोष गौतम काठमाडौं । ३० वर्षअघि साथमा १०० रुपैयाँ नभएर तरकारीको बिउ किन्न नसकेका बेनी नगरपालिका-२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । ‘ऋण खोजेर १५० रुपैयाँको बिउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने,’ शर्मा सम्झिन्छन्, ‘भदौमा प्रतिकिलो दुई रुपैयाँमा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो ।’ अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि ३ रोपनी जमिनबाट सुरु गरेको तरकारी खेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका शर्माले नाम र दाम कमाएका छन् । व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औँलामा गन्न सकिने किसान भएको म्याग्दीमा शर्माको नाम अग्रपङ्क्तिमा आउँछ । आफू उद्यमी बन्नुका साथै अरु धेरैका लागि प्रेरणाको स्रोत बनेका शर्माले आफ्नै परिश्रम र मिहिनेतबाट मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार बचत गर्छन् । छोरीलाई हेल्थ असिस्टेन्ट पढाएर विदेश पठाएका र छोरालाई पोखरामा स्नातकोत्तर पढाइरहेका सापकोटाले तरकारी र केरा खेतीबाट भएको कमाइले खबरामा पक्की घर बनाउनुका साथै पोखराको लेखनाथमा घडेरी किनेको बताए । तरकारी बेचेर कमाएको २ लाखबाट खबराको दारिम्पाटामा खरिद गरेको सात रोपनी पहिरोले पुरिएको पाखोलाई थप १६ लाख रुपैयाँ खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गरे । ‘बारीको बीच भागमा चारवटा टनेल र खुला जमिनमा तरकारी तथा डिल र कुनामा केरा लगाएको छु’, शर्माले भने, ‘गँड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोस्ट’ मल, रासायनिक विषादीको विकल्पमा गहुँत प्रयोग गरी प्राङ्गारिक विधिबाट खेती गरेको छु ।’ पाखोबारी अहिले हराभरा कृषि फार्म बनेको छ । परागशेचनका लागि १० घार मौरी पालेका शर्माले रोहोटे र खबरामा रहेको पुर्ख्यौली ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती र डालेघाँस खेती गरेका छन् । शर्माले उत्पादन गर्ने केरा, गोलभेँडा, धनियाँ, खुर्सानी, साग, काँक्रो, सिमी, घिरौँला, फर्सीलगायत मौसमी र बेमौसमी तरकारी सदरमुकाम बेनीबजार नजिकै भएकाले बिक्रीको समस्या छैन । सोवित तीन वर्षको हुँदा बुबा भवदत्तको छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा जलेर निधन भयो । आमा सेतिले खेती किसानी गरेर दुई दिदी र बहिनीसँगै हुर्काएका सोवित पारिवारिक बाध्यताले १० कक्षामा पढ्दै गर्दा काम खोज्दै भारत पुगे । केही वर्ष भारतको दिल्लीमा भौतारिँदा आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि गाउँ फर्किएका सोवितले धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि धानको विकल्पमा तरकारी खेती गर्न माटोसँग मितेरी गाँसे । धान रोप्न छोडेर तरकारी खेती गरेको सुनेर सोवितलाई घरमै भेट्न पुगेका तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारीको प्राविधिक सल्लाह र सहयोगले उत्साह बढ्यो । श्रीमती देवी बिरामी भएर उपचार गराउँदा लागेको ऋण तिर्न र देशमा चर्किँदै गएको द्वन्द्वका कारण सप्रिँदै गरेको तरकारी खेती श्रीमती र आमालाई जिम्मा लगाएर २०६१ सालमा मलेसिया पुगेका शर्माले त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकबाट प्रभावित भएर चार वर्षपछि घर फर्किएर पुनः तरकारी खेतीमै जोडिए । ‘मलेसियाको कमाइले ऋण तिरेँ । र, केही पैसा बचत पनि गरेँ’, शर्माले भने, ‘देशमा शान्ति प्रक्रिया सुरु भएकाले आमा र श्रीमतीले निरन्तरता दिएको तरकारी खेतीलाई थप व्यावसायिक बनाउने र उद्यम व्यवसाय गर्ने वातावरण भयो ।’ आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको सापकोटा बताउँछन् । दिन, साँझ र बिहान माटोसँगै खेलेर बिताउने उनको फार्ममा परिवारका सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन् । ‘पहिला गुजारा चलाउन गाह्रो थियो, दुईचार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो’, सोवितकी श्रीमती देविले भनिन्, ‘हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारी खेतीले हो ।’ २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट पहिलोपटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका सोवितले कृषि मेलामा सहभागी भएर थुप्रै पुरस्कार पनि हात पारेका छन् । बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न संघसंस्थाबाट उनले तालिम र अनुदान सुविधा पनि पाएका छन् । आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न संघसंस्था र समूहमा आबद्ध सापकोटा कृषकलाई जैविक खेती प्रविधि सिकाउन एकीकृत कृषक पाठशालाको सहजीकरण गर्न जिल्लाभरका किसानको करेसाबारीमा पुग्छन् । खबरामा व्यावसायिक तरकारी खेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे हुन् । उनीहरूको मिहिनेत र सफलताबाट प्रभावित भएर खबराका धेरै किसान व्यावसायिक तरकारी र केरा खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका– २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । डेढ सय घरपरिवारको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारी खेती गरेका छन् । पूरै गाउँको आयस्रोत केरा खेती बनेको छ । उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनीबजारमा खपत हुन्छ । किसानले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको सापकोटाको अनुभव छ । पछिल्लो समय केराको गाना कालो र टुप्पोका पात पहेँलो हुँदै सुक्ने समस्या चुनौतीका रूपमा देखिएको छ । प्राङ्गारिक विधिबाट तरकारी खेतीलाई निरन्तरता दिँदै नमुना कृषि फार्म बनाउने सापकोटाको योजना छ । रासस
हिजो आह्वान, आज रद्द
काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान गरिएको दरखास्त सूचना रद्द गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको जानकारी दिएको हो । मन्त्रालयले जेठ ७ गते गोरखापत्रमार्फत दरखास्त आह्वान गरेको थियो । तर, त्यसको भोलिपल्टै अर्थात् जेठ ८ गते अर्को सूचना प्रकाशित गर्दै उक्त आह्वान रद्द गरिएको जनाएको छ । सूचना रद्द गर्नुको स्पष्ट कारण भने खुलाइएको छैन । मन्त्रालयले भने ‘विशेष कारणवश’ दरखास्त आव्हानको सूचना रद्द गरिएको उल्लेख गरेको छ ।
आलु खेती फस्टाउँदै, करोडौंका शीतभण्डार प्रयोगविहीन
काठमाडौं । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका-८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलु खेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् । ‘समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलु खेतीले हरियाली भएका छन्,’ विष्टले भने, ‘हामीले आलुसँगै अन्य सिजन अनुसारका तरकारी खेती पनि गर्दै आएका छौँ ।’ बैतडीको पाटन नगरपालिका-८, ९ र १० आलु खेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलु खेतीसँगै अन्य मौसम अनुसारका तरकारी खेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि २ करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समय समयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिए । आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा शीतभण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेल्धुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् । शीतभण्डार सञ्चालनमा नआउँदा मर्कामा किसान प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन-८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डार वर्षोंदेखि प्रयोग विहीन छन् । वर्षौदेखि अलपत्र अवस्थामा रहेको शीतभण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउँछन् । यस क्षेत्रमा बनेका शीतभण्डार पनि प्रयोगमा छैनन्, शीतभण्डार सञ्चालन गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनको गुनासो छ । पाटन नगरपालिका-८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीतभण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शीतभण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको १५ लाख रुपैयाँ अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् । शीतभण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए । त्यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्को शीतभण्डारको काम सम्पन्न हुनसकेको छैन । साविकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रूपैयाँ लागतमा बनेको शीतभण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन । विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीतभण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।
३ महिना नदीजन्य पदार्थ उत्खनन बन्द, अवैध रोक्न प्रहरी परिचालन
काठमाडौं । कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए । अनुगमन समितिका संयोजकसमेत रहेका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको बताए । ‘बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन प्रचलित कानुनबमोजिम मात्र गर्ने, अवैध उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी प्रहरीबाट नियन्त्रणमा लिइने छ,’ पौडेलले भने । नदी खोला, वन क्षेत्र खेतीयोग्य जमिन विपद् जोखिम क्षेत्र वस्तीमा वातावरणीय विनाश नहुने गरी मात्र उत्खनन व्यवस्थापन गर्ने, स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय बिहान ८ देखि बेलुका ६ बजेसम्म तोक्ने समेत निर्णय बैठकले गरेको छ । त्यसैगरी, समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने, उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने अवस्था सुनिश्चित गर्न कारोबार बिना बिलबिजक जारी गर्न रोक लगाउने निर्णयसमेत गरिएको छ । बैठकले पालिकाहरूले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र सङ्कलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेर मात्र गर्न, तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र सङ्कलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँ-नगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा सङ्कलनको अभिलेख राख्न आग्रह गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए । उत्खनन सङ्कलन वा ढुवानीकर्ताले ढुवानी गरेको परिणामको दैनिक अभिलेख र दैनिक पटके बिक्री तथा ढुवानी अभिलेख राख्ने, फेवातालको जलाधार क्षेत्रबाट कानुन विपरीत ढुङ्गा, बालुवा र अन्य प्रकारको माटो खन्ने, झिक्ने वा ओसारपसार गर्ने कार्य रोक्न लगाउन र कोही कसैले उक्त कार्य गरेमा कानुनबमोजिम कारबाही गर्न लेखी आएकामा उल्लेखित कार्य पूर्ण रूपमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्याद समाप्त हुनुभन्दा अगावै उठाइ सक्नुपर्ने र यदि म्यादभित्र नउठाएमा पालिकाले जफत गरी प्रचलित कानुनबमोजिम लिलाम बिक्री गरी स्थानीय सञ्चित कोषमा आम्दानी जनाउनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्यादभित्रै उठाई अन्यत्र मौज्दात राखेकामा म्यादभित्रै पालिकाले मौज्दात प्रमाणित गरी प्रमाणित गरेको मौज्दात विवरण अनिवार्य रूपमा जिल्ला अनुगमन समितिमा पठाउन निर्देशन दिइएको समन्वय अधिकारी बरालले बताए ।
अब झापामा राति पनि अन्तर्राष्ट्रिय खेल, फ्लडलाइटका लागि साढे ३ करोड बजेट
काठमाडौं । झापाको भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ साल यता दुइवटा अन्तर्राष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् । फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्कर प्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णु कुमार नेम्वाङले हस्ताक्षर गरेका छन् । खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । ‘खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो,’ नगर प्रमुख पोखरेलले भने, ‘यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।’ पछिल्लो समय भद्रपुरमा अन्तर्राष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युतको मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ । फ्लडलाइट प्रणाली जडान कार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।
पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव: गण्डकीभन्दा पूर्वमा भारी वर्षा
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण बिहीबार (आज) गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत भएको छ । तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ । बिहीबार साँझ अबेर प्राप्त वर्षा मापनको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको केचनाकवलमा १५२ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । यस्तै, सिन्धुपाल्चोकमा ८३.२ मिलिमिटर वर्षा भएको छ । सङ्खुवासभामा ५८, गोरखामा झण्डै ४९, तनहुँमा ६०.२ र कास्कीमा ५७.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । यस्तै, लमजुङमा ४६ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि जेठ ८ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको सूचना अधिकारी कायस्थले बताए । आज दिपायल र नेपालगञ्जमा ४१ डिग्रीभन्दा माथि अधिकतम तात्रफम तापक्रम पुगेको छ ।
सुदूरपश्चिममा ६० करोड बढी बेरुजु, ५ करोड बढी असुल गर्नुपर्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । बिहीबार (आज) महालेखा परीक्षकको कार्यालयले प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदन पेस गरेको हो । महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक थवराज अधिकारीले आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई बुझाएका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मियाँले महालेखा परीक्षकको कार्यालयले आर्थिक अनुशासन कायम गर्न उत्प्रेरित गरेको बताए । उनले आर्थिक पारदर्शीता र मितव्ययिताका लागि महालेखा परीक्षकको कार्यालयले विशेष योगदान दिएको भन्दै प्रशंसा गरे । उनले सो प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्रीमार्फत प्रदेशसभा पठाइने बताए । महालेखा परीक्षकको कार्यालयले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कामकारबाही समेटेर तयार गरिएको प्रतिवेदन पेस गरेको हो ।