विकासन्युज

काउली किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) रु ७२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, मटर कोशा प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ४५, चिचिन्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ३५ र पिँडालु प्रतिकिलो रु ५० कायम गरिएको छ । स्कुस प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकिलो रु १२०, मेथीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, निगुरो प्रतिकिलो रु ८०, कुरिलो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, सजीवन प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३२५, कागती प्रतिकिलो २६०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ४५०, आँप (दसहरी) प्रतिकिलो रु २८०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३२०, तरबुजा (हरियो) प्रतिकिलो रु ३५, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिचि (भारती) रु २८०, एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।

रिलायबल समृद्धि योजना-२ को इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल समृद्धि योजना-२ को इकाई खरिद गर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ । वैशाख २९ गतेदेखि बिक्री खुला गरेको रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडको रिलायबल समृद्धि योजनजा-२ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सक्नेछन् ।  क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । कम्पनीले कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको फण्डमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

राजमार्गमा बनेका अवैध संरचना हटाउन १५ दिनको ताकेता

काठमाडौं । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।  डिभिजन अन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरूले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घर टहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ ।  सडक सीमा अतिक्रमित हुँदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ । कार्यालयले जारी गरेको सूचनामा पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको-कोइलावास-लमही-घोराही सडकखण्ड, राप्ती राजमार्गको-अमेलिया-तुलसीपुर-सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको-गढवा-राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी-खलङ्गा-बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी-घोराही-तुलसीपुर-काल्चे सडकखण्ड,भालुबाङ-गनाहा-सडकखण्ड र रारा राजमार्गको-थारमारे-चौरजहारी सडकखण्डको सीमा अतिक्रमण भएको उल्लेख छ । 

कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन टुंगो लगाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूको कार्य विभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्न लागेको हो । अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तर पार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत मङ्सिर २७ देखि २९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्य विभाजन गरिएको थियो । यसपटकको कार्य विभाजनमा एमालेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई सङ्गठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसङ्गठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । उपाध्यक्ष तथा उप-महासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ । 

कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज (शुक्रबार) छलफल गर्न लागेका हुन् । रास्वपा प्रवक्ता मनिष झाले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि छलफल सुरु हुने जानकारी दिए । उनका अनुसार सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ । प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रम आयोजना हुने जानकारी दिए । ‘सांसदज्यूहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा पार्टी सभापतिज्यू कोशी प्रदेश र मधेश प्रदेशका उपलब्ध सांसदज्यूहरूसँग छलफल गर्ने तालिका रहेको छ,’ उनले भने । 

संस्थापक र सर्वसाधारण सेयर भएका सेयरधनीले सर्वसाधारण कोटाबाट सञ्चालन बन्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेका सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने सर्वोच्च अदालतले फैसला गरेको छ । सिटिजन्स बैंकको १९औँ वार्षिक साधारणसभाको क्रममा संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेका एक सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न पाउनुपर्ने भन्दै विवाद उठाएपछि सर्वोच्च अदालतले सो विषयमा अन्तिम व्याख्या गरेको हो । उत्पन्न विवादका कारण सञ्चालक समिति निर्वाचन नै रोकिएको थियो । साधारणसभा अघि बैंकको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयरधनी रहेका रत्नेश्वरप्रसाद शर्माको उम्मेदवारी निर्वाचन समितिले अस्वीकृत गरेको थियो । तर, अन्तिम फैसलामा सर्वोच्चले उनको रिट खारेज गर्दै निर्वाचन समितिको निर्णय सदर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८२ चैत १५ गते गरेको फैसलाअनुसार शर्माको मौलिक हक हनन भएको नदेखिएको ठहर गरेको हो । यससँगै अब बैंक तथा वित्तीय संस्थामा संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गर्ने सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने भएका छन् । उनीहरूले संस्थापक समूहबाट मात्र उम्मेदवारी दिन पाउने व्यवस्था कायम रहनेछ । फैसलाको पूर्ण पाठमा बैंकिङ क्षेत्रमा स्वार्थको द्वन्द्व रोक्न र संस्थागत सुशासन कायम गर्न यस्तो व्याख्या गरिएको उल्लेख छ । सर्वोच्चले बैंकिङ संस्थाहरू सर्वसाधारणको निक्षेपमा आधारित हुने भएकाले संस्थागत सुशासन अत्यन्त महत्त्वपूर्ण हुने ठहर गर्दै स्वार्थको द्वन्द्व हुने सम्भावना औंल्याएको छ । संस्थापक समूहमा संलग्न व्यक्ति सर्वसाधारण समूहबाट सञ्चालक हुँदा वास्तविक प्रतिनिधित्व हुन्छ वा हुँदैन भन्ने प्रश्न गम्भीर हुने र यसले पारदर्शितामा असर पार्न सक्ने देखिएको फैसलामा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले राष्ट्र बैंकलाई नियमनकारी अधिकार दिएको र सोही आधारमा निर्देशन जारी गर्ने अधिकार वैध रहेको पनि अदालतले स्पष्ट गरेको छ । यससँगै रत्नेश्वरप्रसाद शर्माको रिट खारेज भएको छ र बैंक तथा वित्तीय संस्थामा सञ्चालक चयनसम्बन्धी कानुनी व्यवस्था थप स्पष्ट बनेको छ ।

आजको मौसमः तराईमा सफा, पहाडमा बदली र वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानमा, मधेश प्रदेश लगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा तातोलहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ । यसैगरी, कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।