१.५३ करोड रुपैयाँ तिर्न लोहनी एण्ड ब्रदर्सलाई सरकारको ताकेता
काठमाडौं । लोहनी एण्ड ब्रदर्स प्रालिलाई डेढ करोड रुपैयाँ तिर्न ताकेता गरेको छ । सडक डिभिजन भरतपुरले लोहनी एण्ड ब्रदर्स प्रालि भरतपुर, चितवनलाई सरकारी बाँकी सरहको १ करोड ५३ लाख ६० हजार ९७९ रुपैयाँ चुक्ता गर्न ताकेता गरेको हो । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत रहेको सडक डिभिजन भरतपुरले उक्त कम्पनीसँग भएको ठेक्का सम्झौता पटक-पटक म्याद थप गर्दा पनि सम्झौताअनुसार कार्य सम्पन्न नभएको भन्दै ठेक्का अन्त्य गरेको थियो । कार्यालयका अनुसार वि.सं २०७३ मंसिर २९ मा बुढी राप्ती खोलामा प्रि-स्ट्रेस्ड ब्रिज निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अनुसार कार्य नगरेपछि विसं २०८० जेठ ७ को निर्णयअनुसार ठेक्का अन्त्य गरिएको थियो । ठेक्का अन्त्यपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा प्रचलित नियमावलीअनुसार कायम भएको १ करोड ५३ लाख रुपैयाँ सरकारी बाँकी सरह रकम दाखिला गर्न निर्देशन दिइएको हो कार्यालयले उक्त रकम ३५ दिनभित्र सडक डिभिजन भरतपुरको राजस्व खातामा जम्मा गरी सक्कल भौचर बुझाउनुपर्नेछ । निर्धारित समयभित्र रकम दाखिला नगरे कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ ।
जब सजन श्रेष्ठसहित तीनजना छाडा बोलेको भन्दै माफी माग्न ब्यूरोमा पुगे...
काठमाडौं । विवादित युट्युबर सजन श्रेष्ठसहित तीन जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर छाडेको छ । युट्युबमा छाडा बोलेको भन्दै चर्चित स्ट्यान्डअप कमेडियन तथा कलाकार सजन श्रेष्ठसहित उनका साथीहरूले ब्यूरोमा पुगेर माफी मागेका हुन् । जेठ ५ गते साइबर ब्यूरोको कार्यालयमा उनीहरू पुगेका थिए । ब्यूरोले उनीहरूलाई ‘आइन्दा छाडा शब्द नबोल्ने’सर्तमा छाडेको हो । साजन श्रेष्ठले सञ्चालन गर्ने युट्युब च्यानलमा ‘इन दी लास्ट कोइसन’ नामक कार्यक्रम प्रसारण हुँदै आएको छ । कार्यक्रमको एउटा एपिसोडमा साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमबीचको कुराकानीमा अत्यधिक छाडा र उच्छृङ्खल शब्दहरू समावेश थिए । उनीहरूले ‘कमेडी’ को नाममा अश्लील र अपाच्य शब्दहरू बोलेपछि सर्वसाधारणले कडा आलोचना गरेका थिए । दर्शकहरूले कार्यक्रममा बोलिएका शब्दहरू छाडा भएको भन्दै साइबर ब्यूरोमा गुनासो र उजुरी गरेपछि प्रहरीले एक्सन लिएको हो । ब्यूरोका एक अनुसन्धान अधिकृतले टीआरपी (भ्युज र चर्चा) को नाममा कार्यक्रममा जथाभावी उच्छृङ्खल र छाडा शब्द प्रयोग गरेकाले उनीहरूलाई बोलाएर सोधपुछ गरिएको बताए । ‘टीआरपीका नाममा छाडा शब्द प्रयोग गरेको मौखिक ब्यूरोमा उजुरी परेको थियो । श्रेष्ठसहित तीनै जनालाई बोलाएर सोधपुछ गरिएको हो,’ साइबर ब्यूरोका एक प्रहरी अधिकृतले भने, ‘उहाँहरू तीनै जनाले गल्ती महसुस गर्दै अब आइन्दा छाडा शब्द नबोल्ने भनेर माफी मागेपछि छाडिएको हो ।’ यसअघि पनि गायक तथा कुमा सागरको बोलीलाई क्यारिकेचर गरेपछि उनी विवादमा आएका थिए । कार्यक्रममा श्रेष्ठले कुमा सागरको गीत उनकै लवजमा गाउने प्रयास गरेका थिए । यसपछि श्रेष्ठले गायक कुमा सागरलाई होच्याएको भन्दै आलोचना सुरु भयो । विवाद बढेपछि उक्त कार्यक्रम युट्युबबाटै हटाइएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनमा पनि श्रेष्ठ सहभागी भएका थिए । पछि उनले आफूले आगजनी तथा तोडफोड गर्नेलाई सम्झाएको भनेर बताएका थिए ।
कामना सेवाको सहयोगमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' मा रहेका अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय गोंगबु मार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक अर्यालले बैंकको सहयोगले संस्थामा आश्रित बालबालिकाको शैक्षिक पहुँच विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् । उनले यस्तो सहयोगले बालबालिकामा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने बताइन् । यस अवसरमा बालबालिकाहरूले खुशी व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका थिए । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
महासंघ केन्द्रीय कार्यसमितिमा ६ जना मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । महासंघको विधानअनुसार अध्यक्ष अञ्जन श्रेष्ठले उनीहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन् । महासंघद्वारा मनोनीत सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, दर्शना श्रेष्ठ, साहारा जोशी र गोकर्ण कार्की रहेका छन् । महासंघको विधानअनुसार २ जना महिला सहित ७ जना मनोनीत गर्नुपर्ने व्यवस्था भए पनि हालका लागि ६ जना मात्रै मनोनीत गरिएको हाे ।
झापामा विद्यालयको जग्गामा ६५ परिवारको बसोबास, शैक्षिक पूर्वाधार संकटमा
सुरुङ्गा । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण र अभिलेखीकरण अभियान तीव्र बनाइरहेका बेला पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालयका नाममा रहेका सयौँ बिघा जमिन अतिक्रमण भएको छ । झापा गाउँपालिकामा विद्यालयको स्वामित्वमा रहेको जग्गामा सिङ्गो बस्ती बसोबास गरिरहेको विवरण सार्वजनिक भएको हो । झापा गाउँपालिका-२ स्थित कुवाडीदेवी माध्यमिक विद्यालयको नाममा रहेको करिब ११ बिघा १७ कट्ठा जमिनमध्ये ठूलो हिस्सामा स्थानीयले घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन् । विद्यालय प्रशासनका अनुसार उक्त क्षेत्रमा हाल ६५ परिवार बसोबास गरिरहेका छन् । सङ्घीय सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख व्यवस्थित गर्ने प्रक्रिया सुरु भएपछि विद्यालयले आफ्नो नाममा रहेको जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गरेको थियो । विद्यालयले सात दिनभित्र आवश्यक कागजात तथा विवरणसहित सम्पर्कमा आउन आग्रह गरे पनि अधिकांश परिवार सम्पर्कमा नआएका कुवाडीदेवी माध्यमिक विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक मुकेशकुमार कर्णका अनुसार सूचना जारी गरेपछि हालसम्म सातदेखि आठ परिवार मात्रै सम्पर्कमा आएका छन् । 'जग्गामा बसोबास गरिरहनुभएका धेरैजसो व्यक्तिहरू सम्पर्कमा आउनुभएको छैन', उनले भने, 'यसले समस्या समाधानको प्रक्रिया थप जटिल बन्ने देखिएको छ ।' विद्यालय प्रशासनका अनुसार हाल विद्यालय व्यवस्थापन समिति गठन नभएकाले तत्काल थप निर्णय लिन कठिन भएको छ । समिति गठन भएपछि पुनः सूचना जारी गरेर आवश्यक प्रक्रिया अघि बढाइने तयारी गरिएको प्रधानाध्यापक कर्णले जानकारी दिए । पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसका नाममा रहेको ठूलो क्षेत्रफलको जमिनमा बस्ती बसिसकेको तथ्यसमेत सार्वजनिक भएको छ । पाराखोपी माध्यमिक विद्यालय, आठराई–तेह्रथुमको नाममा रहेको १२० बिघा चार कट्ठा तीन धुर, मेची बहुमुखी क्याम्पस भद्रपुरको १२६ बिघा, करफोक माध्यमिक विद्यालय इलामको ८४ बिघा, आदर्श विद्या मन्दिर घैलाडुब्बाको ८७ बिघा, जनता प्राथमिक विद्यालय शरणामतिको २७ बिघा, महेन्द्र माध्यमिक विद्यालय पन्थापाडाको २७ बिघा तथा डिल्लीराज माध्यमिक विद्यालयको २१ बिघा जमिनमा बसोबास विस्तार भएको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् । स्थानीय तहका जानकारहरूका अनुसार वर्षौंदेखि भूमिहीन तथा विपन्न परिवार सार्वजनिक तथा विद्यालयको जमिनमा बस्दै आएका छन् । प्रारम्भमा अस्थायी रूपमा सुरु भएको बसोबास समयसँगै स्थायी बस्तीमा परिणत भएको स्थानीय बताउँछन् । कतिपय स्थानमा राजनीतिक संरक्षण तथा प्रशासनिक निष्क्रियताका कारण अतिक्रमण नियन्त्रण बाहिर पुगेको स्थानीयको भनाइ छ । सरकारले पछिल्लो समय सार्वजनिक जमिन संरक्षणलाई प्राथमिकतामा राख्दै डिजिटल अभिलेख तयार गर्ने, अतिक्रमण पहिचान गर्ने तथा आवश्यक परे खाली गराउने नीति अघि बढाएको छ । वन क्षेत्र, नदी उकास, गुठी तथा विद्यालयका नाममा रहेका जग्गाको संरक्षणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ । शिक्षासम्बन्धी सरोकार भएका निकायका प्रतिनिधिका अनुसार विद्यालयका नाममा रहेको जमिन अतिक्रमण हुँदा शैक्षिक पूर्वाधार विस्तारमा प्रत्यक्ष असर परेको कावा अध्यक्ष थपलियाले बताइन् । कतिपय विद्यालयले खेलमैदान, भवन तथा अन्य संरचना निर्माण गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् । झापा गाउँपालिकाको पछिल्लो घटनाले सार्वजनिक सम्पत्तिको संरक्षण, भूमिहीन व्यवस्थापन र राज्यको कार्यान्वयन क्षमताबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण बन्दै गएको जानकारहरू बताउँछन् । रासस
विश्वकप क्रिकेट लिग–२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ । नेपाल २२ अङ्कका साथ विश्वकप क्रिकेट लिग–२ को पाँचौ स्थानमा छ । अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा छ । अमेरिकाविरुद्धको आजको खेलमा नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।
मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’ प्रदान
काठमाडौं । मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी वितरण गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । 'अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,' एक विद्यार्थीले भावुक हुँदै प्रतिक्रिया दिए । अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना सन्तानको भविष्यप्रति नयाँ भरोसा जागेको बताएका छन् । बैंकले शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व भएको विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताए । परियारको मञ्जुरीमा उनकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो । राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्याउने गरी सेवा सुरु गरिएको हुलाक अधिकृत सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्याउने गरी सेवा प्रदान गर्दा नागरिकलाई सुविधा पुग्ने विश्वास गरिएको छ । 'सरकारले नागरिकलाई कतिपय सेवा घरमै दिने योजना बनाएको छ, सोहीअनुसार राहदानी घरदैलोमानै पुर्याउने सेवाको सुरुआत गरेका हौँ, यसले सेवाग्राहीलाई सुविधा थप्ने विश्वास छ', हुलाक अधिकृत सापकोटाले भने । घरमै परिवारको सदस्यको राहदानी प्राप्त गर्दा खुसी लागेको विमला परियारले बताइन् । 'जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनका लागि समय व्यवस्थापन गरी पुग्नुपर्ने हुन्थ्यो, घरमै पाउँदा समयको बचत पनि भयो, त्याहाँ सम्म पुग्दा लाग्ने यातायात खर्च पनि बच्यो, धेरै सुविधा भयो', उनले भनिन् । नवलपुरमा पहाडी क्षेत्रसमेत रहेकाले उक्त क्षेत्रमा पनि यो सुविधा पुर्याइने हुलाक अधिकृत सापकोटाले बताए। ‘हामीलाई प्राप्त भएका राहदानी जुन पालिकाको भए पनि हाम्रा कार्यालय र सम्बन्धित पालिकाको कर्मचारीमार्फत घरमै पुर्याउँछौँ', उनले भने । यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिइएको छ । रासस