२० प्रतिशत बोनस दिँदै नर्भिक, स्वास्थ्य सेवामा आक्रामक विस्तारको तयारी
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवा विस्तारसँगै नयाँ अस्पताल, क्यान्सर उपचार केन्द्र र फार्मेसी सञ्जाल विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नर्भिकको छैटौं वार्षिक साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य सेवा तथा व्यवसाय विस्तारका विभिन्न योजना अघि सारेको हो । साधारणसभामा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरेका हुन् । कार्ययोजनाअनुसार नर्भिकले निर्माणाधीन अस्पताल भवनको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यस्तै, हाल काठमाडौं उपत्यकामा १५ शाखा सञ्चालनमा रहेको नर्भिक फार्मेसियाका शाखा चालु आर्थिक वर्षमा उल्लेख्य रूपमा बढाउने योजना छ । उपत्यकाभित्र १८ र उपत्यकाबाहिर १५ शाखा विस्तार गर्नुका साथै फ्रान्चाइज मोडलमा ६ शाखा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसअनुसार कुल शाखा संख्या ५४ पु‍र्याउने र आगामी दुई वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने योजना नर्भिकले अघि सारेको छ । स्वास्थ्य सेवाको पहुँच काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटल परियोजना पनि अघि बढाइएको छ । ५० शय्याको उक्त अस्पतालमा ओपिडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी र अप्रेसन थिएटरसहितका सेवा सञ्चालन गर्ने योजना छ । सिटी हस्पिटलमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपी सर्जरी, एक्सरेलगायतका डायग्नोस्टिक तथा उपचार सेवा उपलब्ध गराउने नर्भिकले जनाएको छ । अस्पतालको सेवा हालको नर्भिक अस्पतालभन्दा सुलभ र स्थानीय सर्वसाधारणले सहज रूपमा उपयोग गर्न सक्ने बनाइने अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए । यसैगरी, नर्भिकले अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना अघि सारेको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना भइसकेको जनाइएको छ । चालु आर्थिक वर्षमा उक्त परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने योजना रहेको छ । परियोजनाको नेतृत्व सल्लाहकारका रूपमा नर्भिकका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरी रहेका छन् । संस्थानको अनुमानित कुल लागत करिब ३०० करोड रुपैयाँ रहने जनाइएको छ । नर्भिकले स्वास्थ्य सेवा सेवाग्राहीको घरसम्म पु‍र्याउने उद्देश्यले ‘नर्भिक एट होम’ सेवा पनि सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सेवा सुरु गर्ने योजना रहेको छ । सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई समेत प्राथमिकता दिइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारलाई नर्भिकले आगामी दिनको मुख्य प्राथमिकता बनाएको जनाएको छ । २० प्रतिशत बोनस सेयर दिने साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित भएको छ । यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृति गर्नेलगायत आवश्यक काम कारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले देशमा देखिएका विषम परिस्थितिका बाबजुद संस्थाले सकारात्मक आर्थिक सूचक हासिल गर्न सफल भएको बताए । उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिए । सञ्चालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन् । मिश्रले हालैको रसुवा बाढीपीडितका लागि नर्भिक हस्पिटलको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको जानकारी दिए । नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिने जनाएको छ । एक वर्षमा १ लाख ७९ हजार ओपिडी बिरामी नर्भिकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले ओपिडीतर्फ १ लाख ७९ हजार, आइपिडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई उपचार सेवा दिएको छ । त्यस्तै, अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८२र८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको छ । फार्मेसीसमेत जोड्दा कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको नर्भिकले जनाएको छ ।
अर्थमन्त्री समक्ष हस्तान्तरण भएको सहयोग २ अर्ब ७३ करोड नाघ्यो
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६ सय ३४ र १२ लाख १५ हजार ६ सय ५४ अमेरिकी डलर सहयोग हस्तान्तरण भएको छ । उक्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । हस्तान्तरण भएको सहयोगमध्ये ४५० संस्थागत निकायबाट २ अर्ब ६५ करोड ७४ लाख ७४ हजार ५ सय ९८ (९७.२ प्रतिशत) र ४० व्यक्तिबाट ७ करोड ७१ लाख ५६ हजार ३६ (२.८ प्रतिशत) प्राप्त भएको छ । कुल रकमको ७८.५ प्रतिशत चेकमार्फत र बाँकी नगद, भौचर तथा अनलाइन माध्यमबाट प्राप्त भएको हो । सबैभन्दा बढी सहयोग भदौ १५ गते ८५ संस्था तथा व्यक्तिबाट ५९ करोड ८७ लाख हस्तान्तरण भएको थियो । भदौ २६ गते मात्र २२ संस्था तथा व्यक्तिबाट ३० करोड ३२ लाख २८ हजार ७ सय १६ र १० लाख अमेरिकी डलर हस्तान्तरण भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त प्रत्येक रकम-सहयोग गर्ने निकाय वा व्यक्ति, प्राप्तिको माध्यम, मिति र सो रकमको उपयोगसम्बन्धी नेपाल सरकारको निर्णय मन्त्रालयको आधिकारिक पोर्टल mofnepal.github.io/rasuwa-flood-update मा दैनिक रूपमा अद्यावधिक गरी सार्वजनिक गरिएको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिप्रति अर्थमन्त्रालयले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । सहयोग गर्न चाहने सबैलाई नेपाल सरकारको आधिकारिक भुक्तानी पोर्टल donate.gov.np मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अनुरोध गरिएको छ ।
प्रधानमन्त्री राहत कोषमा प्रभु बैंकका सञ्चालक र कर्मचारीले दिए ४० लाख ८० हजार रुपैयाँ
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहतका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन् । बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालय पुगेर उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे । विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ । यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत उपलब्ध गराएको थियो । त्यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको जनाएको छ । प्रभु बैंकले प्राकृतिक विपदमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले पारित गर्यो ५० प्रतिशत नगद लाभांश
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको दशौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको प्रतिवेदन तथा आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष रुपेश लुईंटेलका अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सो अवधिमा क्यापिटलले १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । क्यापिटलले व्यवसाय विस्तारतर्फ पनि उल्लेख्य प्रगति गरेको जनाएको छ । आषाढ मसान्त २०८३ सम्ममा क्यापिटलले ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत चार वटा बन्दमुखी र दुई वटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकको ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरेको क्यापिटलले जनाएको छ । सेयर रजिस्ट्रार सेवातर्फ क्यापिटलले २४ वटा कम्पनीलाई सेवा प्रदान गरिरहेको छ । ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत भने हालसम्म २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ । क्यापिटलका अनुसार दशौं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसहित हालसम्म आफ्ना सेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको छ ।
प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात, १ अर्ब निकासा
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । यस्तै, कोषका दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघ–संस्था तथा निकायबाट सहयोगस्वरूप रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो । कोषमा मौज्दात रहेको रकमबाट बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका काममा आवश्यकताअनुसार खर्च गरिने प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
अबदेखि नागरिक एपबाटै विदेश भ्रमणको आगमन–प्रस्थान विवरण पाइने
काठमाडौं । अबदेखि नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण (भ्रमण विवरण) अब नागरिक एपमार्फतै उपलब्ध हुने भएको छ । अध्यागमन विभागले यस्तो व्यवस्था गरेको हो । विभागबाट प्रदान हुने सेवालाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यससँगै अब विदेश भ्रमणको विवरण लिन नेपाली नागरिकले अध्यागमन विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको छ । यसअघि विभिन्न संघ–संस्था तथा व्यक्तिले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण लिन विभागमै भौतिक रूपमा निवेदन दिनुपर्ने अवस्था थियो । त्यसकारण विवरण प्राप्त गर्न समय लाग्ने, विभागको कार्यबोझ बढ्ने तथा सेवाग्राहीले प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ । अब सेवाग्राहीले आफ्नो स्मार्टफोनमा रहेको नागरिक एपमार्फत सहजै भ्रमण विवरण हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । त्यसका लागि नागरिक एपमा रहेको ‘अध्यागमन’ शीर्षकमा प्रवेश गरी ‘भ्रमण विवरण’विकल्पमा जानुपर्नेछ । नागरिक एपमा लिंक गरिएको राहदानीका आधारमा सम्बन्धित व्यक्तिको विदेश भ्रमणसम्बन्धी आगमन तथा प्रस्थान विवरण प्राप्त गर्न सकिने विभागले जनाएको छ । लिंक गरिएको राहदानीको विवरण मात्र उपलब्ध हुने भएकाले व्यक्तिगत विवरणको सुरक्षासमेत कायम रहने विभागले जनाएकाे छ । नयाँ व्यवस्थाबाट सेवाग्राहीको समय र लागत बचत हुनुका साथै अध्यागमन सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विभागले विश्वाससमेत व्यक्त गरेको छ । विभागका अनुसार यात्रा विवरण माग गर्ने व्यक्ति तथा संस्थाले नागरिक एपबाट प्राप्त गरेको विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सकिनेछ ।
रसुवाको अवरुद्ध सडक खुलाउन कृष्णभीरमा १० उपकरण परिचालन
काठमाडौं । रसुवामा बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीरमा सडक निर्माण तथा सुधारको काम तीव्र पारिएको छ । सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले आठौं दिन पनि निरन्तर काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ । कृष्णभीरमा ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सडक तयार गर्ने कामका लागि करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेशिन तथा उपकरण परिचालन गरिएको छ । उक्त काम दैनिक १४ घण्टासम्म निरन्तर भइरहेको योजनाले जनाएको छ । सवारी आवागमनलाई सहज बनाउन सडकको ग्रेडियन्ट प्राविधिक दृष्टिकोणले सीमित राख्ने गरी काम भइरहेको छ । सडकको यो चरणको काम सम्पन्न भएपछि नाली निर्माण, सब–सर्फेस ड्रेनेज तथा स्लोप प्रोटेक्सनको काम अघि बढाइनेछ । राजधानीको आपूर्ति व्यवस्थालाई सन्तुलित र सहज राख्न विशेषगरी ग्यास बुलेट, मालवाहक सवारीसाधन, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई यथासक्य चाँडो आवागमनको व्यवस्था मिलाउने गरी काम भइरहेको योजनाले जनाएको छ । सम्भव भएसम्म भदौ महिनाको अन्त्यसम्म अत्यावश्यक सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था तयार गर्ने लक्ष्यसहित निर्माण कार्यलाई निरन्तरता दिइएको जनाइएको छ ।
१९ लाख ४८ हजारको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा
काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालत, काठमाडौंले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । अख्तियारका अनुसार नरहरिनाथ गाउँपालिका–७ स्थित ओगडेनी सिरुपाटादेखि उच्छव आडिखोलासम्म सिंचाइ कुलो निर्माण योजनामा वास्तविकभन्दा बढी काम भएको देखाई नापी किताबमा परिमाण बढाएर रकम भुक्तानी लिने–दिने गरी भ्रष्टाचार भएको थियो । उक्त कसुरमा अख्तियारले दुर्गालाल न्यौपानेसमेतका प्रतिवादीविरुद्ध १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । साथै नापी किताबमा गलत विवरण उल्लेख गरेको कसुरमा समेत भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको मागदाबी गरिएको थियो । तर विशेष अदालतले २०८२ फागुन २५ गतेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।