बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर बाल दिवस मनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ यही भदौ २९ गते राष्ट्रिय बाल दिवस २०८३ मनाइँदैछ । तर, भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएपछि यस वर्षको बाल दिवसलाई विपद्बाट प्रभावित बालबालिकाको संरक्षणसँग जोडेर मनाउन सरकारले आग्रह गरेको हो । बाढीका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका वा बेपत्ता भएका बालबालिका तथा स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायत सेवा उपलब्ध गराउन राज्यका संयन्त्र परिचालित रहेको सरकारले जनाएको छ । विपद्को समयमा बालबालिका हराउने, परिवारबाट छुट्टिने, हिंसा तथा शोषणमा पर्ने, बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने तथा आधारभूत सेवा र संरक्षणबाट वञ्चित हुने सम्भावना उच्च रहने भएकाले उनीहरूको सुरक्षा र संरक्षणमा विशेष संवेदनशीलता अपनाउन सरकारको आग्रह छ । सरकारले राष्ट्रिय बाल दिवसका अवसरमा औपचारिक कार्यक्रमभन्दा प्रभावित बालबालिकाको बालमैत्री उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण, परिवारको खोजतलास तथा पुनर्मिलनलाई प्राथमिकतामा राख्न सम्बन्धित निकाय, विद्यालय, संघसंस्था तथा नागरिक समाजलाई अनुरोध गरेको छ । बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर विपद् प्रभावित क्षेत्रमा आवश्यक संरक्षणका कार्यक्रम सञ्चालन गर्नसमेत आग्रह गरिएको छ। साथै, बाल अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन, परिपूर्ति तथा सुनिश्चितता प्राकृतिक बाबुआमा, परिवारका सदस्य, संरक्षक र राज्यको साझा दायित्व भएकाले बालमैत्री वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार र जवाफदेही बन्नुपर्ने सरकारले जनाएको छ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने मूल सन्देशसहित यस वर्षको राष्ट्रिय बाल दिवसलाई विपद्मा परेका बालबालिकाको सुरक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्ने अभियानका रूपमा अघि बढाउन सरकारले आह्वान गरेको छ ।
बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड सहयोग
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले १५ करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ । सोही क्रममा प्राधिकरणले विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको हो । प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए । निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिन बराबरको रकम योगदान गर्नेछन् । त्यसैगरी अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ । सहायकस्तरका कर्मचारीबाट दुई दिन बराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट एक दिन बराबरको तलब योगदान गरिनेछ । त्यस्तै, प्राधिकरणका अध्यक्षले आफ्नो १० दिन बराबरको तलब र दुई बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ । प्राधिकरणका बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ । भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले आ-आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । दूरसञ्चार क्षेत्रसमेत विपद्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनुपर्ने महत्वपूर्ण क्षेत्र भएकाले प्राधिकरणले सेवा प्रदायकलाई प्रभावित क्षेत्रमा सेवा सञ्चालन तथा विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले विपद्का समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
लक्ष्मी हुन्डाईका दुई प्राविधिक अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान
काठमाडौं । प्राविधिक सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक शुक्रबार दक्षिण कोरिया प्रस्थान गरेका छन् । उनीहरूले दक्षिण कोरियास्थित हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमी अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिसम्बन्धी उच्चस्तरीय प्रशिक्षण लिनेछन् । प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा मात्र चार महिनामा पूरा भएको हो । यसअवधिमा उनीहरूले कक्षाकोठाको सिद्धान्तलाई व्यावहारिक कार्यस्थलमा उतार्दै सवारीसाधनको सर्भिसिङ, डायग्नोस्टिक र मर्मतसम्भारमा दक्षता हासिल गरेका थिए । अप्रेन्टिससिप सफलतापूर्वक पूरा गरेपछि लक्ष्मी हुन्डाईले उनीहरूलाई आफ्नै संस्थामा स्थायी रोजगारीको अवसर प्रदान गरेको हो । लक्ष्मी हुन्डाईले सिटीभिटी अन्तर्गतका पोलिटेक्निक संस्थाहरूमा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीहरूलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर उपलब्ध गराउँदै आएको छ । यस पहलमार्फत विद्यार्थीहरूले प्राविधिक ज्ञानका साथै कार्यस्थल अनुशासन, समस्या समाधान र व्यावसायिक सीप सिक्ने मौका पाउँछन् । अन्तर्राष्ट्रिय प्रशिक्षणबाट फर्केपछि प्राविधिकहरूले प्राप्त गरेको ज्ञान र अनुभव नेपालकै अटोमोबाइल क्षेत्रमा प्रयोग गर्ने कम्पनीको विश्वास छ । केवल “सीप सिकेर वैदेशिक रोजगारीमा जाने“ परम्परालाई परिमार्जन गर्दै “विश्वस्तरीय सीप सिकेर नेपालमै उज्यालो भविष्य र करियर बनाउने“ वातावरण निर्माण गर्नु नै यस पहलको मुख्य उद्देश्य रहेको छ ।
नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति (अन्डरराइटिङ) गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच सम्झौता हस्ताक्षर भएको हो । सम्झौता अनुसार महाशक्ति सिमेन्टले १०० अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८५० रुपैयाँ कित्ता सेयर निष्कासन गर्न लागेको छ, जसको कुल रकम १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँ (१ अर्ब ७८ करोड ५० लाख ८५ हजार) बराबर रहेको छ । सम्झौता भएको मितिले ६ महिनाभित्र कम्पनीले उक्त सेयर निष्कासन गरिसक्नुपर्नेछ । यदि तोकिएको ६ महिनाको अवधिभित्र सेयर निष्कासन हुन नसकेमा पुनः नयाँ सम्झौता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
२० प्रतिशत बोनस दिँदै नर्भिक, स्वास्थ्य सेवामा आक्रामक विस्तारको तयारी
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवा विस्तारसँगै नयाँ अस्पताल, क्यान्सर उपचार केन्द्र र फार्मेसी सञ्जाल विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नर्भिकको छैटौं वार्षिक साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य सेवा तथा व्यवसाय विस्तारका विभिन्न योजना अघि सारेको हो । साधारणसभामा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरेका हुन् । कार्ययोजनाअनुसार नर्भिकले निर्माणाधीन अस्पताल भवनको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यस्तै, हाल काठमाडौं उपत्यकामा १५ शाखा सञ्चालनमा रहेको नर्भिक फार्मेसियाका शाखा चालु आर्थिक वर्षमा उल्लेख्य रूपमा बढाउने योजना छ । उपत्यकाभित्र १८ र उपत्यकाबाहिर १५ शाखा विस्तार गर्नुका साथै फ्रान्चाइज मोडलमा ६ शाखा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसअनुसार कुल शाखा संख्या ५४ पु‍र्याउने र आगामी दुई वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने योजना नर्भिकले अघि सारेको छ । स्वास्थ्य सेवाको पहुँच काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटल परियोजना पनि अघि बढाइएको छ । ५० शय्याको उक्त अस्पतालमा ओपिडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी र अप्रेसन थिएटरसहितका सेवा सञ्चालन गर्ने योजना छ । सिटी हस्पिटलमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपी सर्जरी, एक्सरेलगायतका डायग्नोस्टिक तथा उपचार सेवा उपलब्ध गराउने नर्भिकले जनाएको छ । अस्पतालको सेवा हालको नर्भिक अस्पतालभन्दा सुलभ र स्थानीय सर्वसाधारणले सहज रूपमा उपयोग गर्न सक्ने बनाइने अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए । यसैगरी, नर्भिकले अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना अघि सारेको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना भइसकेको जनाइएको छ । चालु आर्थिक वर्षमा उक्त परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने योजना रहेको छ । परियोजनाको नेतृत्व सल्लाहकारका रूपमा नर्भिकका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरी रहेका छन् । संस्थानको अनुमानित कुल लागत करिब ३०० करोड रुपैयाँ रहने जनाइएको छ । नर्भिकले स्वास्थ्य सेवा सेवाग्राहीको घरसम्म पु‍र्याउने उद्देश्यले ‘नर्भिक एट होम’ सेवा पनि सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सेवा सुरु गर्ने योजना रहेको छ । सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई समेत प्राथमिकता दिइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारलाई नर्भिकले आगामी दिनको मुख्य प्राथमिकता बनाएको जनाएको छ । २० प्रतिशत बोनस सेयर दिने साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित भएको छ । यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृति गर्नेलगायत आवश्यक काम कारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले देशमा देखिएका विषम परिस्थितिका बाबजुद संस्थाले सकारात्मक आर्थिक सूचक हासिल गर्न सफल भएको बताए । उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिए । सञ्चालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन् । मिश्रले हालैको रसुवा बाढीपीडितका लागि नर्भिक हस्पिटलको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको जानकारी दिए । नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिने जनाएको छ । एक वर्षमा १ लाख ७९ हजार ओपिडी बिरामी नर्भिकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले ओपिडीतर्फ १ लाख ७९ हजार, आइपिडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई उपचार सेवा दिएको छ । त्यस्तै, अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८२र८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको छ । फार्मेसीसमेत जोड्दा कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको नर्भिकले जनाएको छ ।
अर्थमन्त्री समक्ष हस्तान्तरण भएको सहयोग २ अर्ब ७३ करोड नाघ्यो
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६ सय ३४ र १२ लाख १५ हजार ६ सय ५४ अमेरिकी डलर सहयोग हस्तान्तरण भएको छ । उक्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । हस्तान्तरण भएको सहयोगमध्ये ४५० संस्थागत निकायबाट २ अर्ब ६५ करोड ७४ लाख ७४ हजार ५ सय ९८ (९७.२ प्रतिशत) र ४० व्यक्तिबाट ७ करोड ७१ लाख ५६ हजार ३६ (२.८ प्रतिशत) प्राप्त भएको छ । कुल रकमको ७८.५ प्रतिशत चेकमार्फत र बाँकी नगद, भौचर तथा अनलाइन माध्यमबाट प्राप्त भएको हो । सबैभन्दा बढी सहयोग भदौ १५ गते ८५ संस्था तथा व्यक्तिबाट ५९ करोड ८७ लाख हस्तान्तरण भएको थियो । भदौ २६ गते मात्र २२ संस्था तथा व्यक्तिबाट ३० करोड ३२ लाख २८ हजार ७ सय १६ र १० लाख अमेरिकी डलर हस्तान्तरण भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त प्रत्येक रकम-सहयोग गर्ने निकाय वा व्यक्ति, प्राप्तिको माध्यम, मिति र सो रकमको उपयोगसम्बन्धी नेपाल सरकारको निर्णय मन्त्रालयको आधिकारिक पोर्टल mofnepal.github.io/rasuwa-flood-update मा दैनिक रूपमा अद्यावधिक गरी सार्वजनिक गरिएको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिप्रति अर्थमन्त्रालयले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । सहयोग गर्न चाहने सबैलाई नेपाल सरकारको आधिकारिक भुक्तानी पोर्टल donate.gov.np मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अनुरोध गरिएको छ ।
प्रधानमन्त्री राहत कोषमा प्रभु बैंकका सञ्चालक र कर्मचारीले दिए ४० लाख ८० हजार रुपैयाँ
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहतका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन् । बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालय पुगेर उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे । विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ । यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत उपलब्ध गराएको थियो । त्यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको जनाएको छ । प्रभु बैंकले प्राकृतिक विपदमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले पारित गर्यो ५० प्रतिशत नगद लाभांश
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको दशौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको प्रतिवेदन तथा आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष रुपेश लुईंटेलका अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सो अवधिमा क्यापिटलले १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । क्यापिटलले व्यवसाय विस्तारतर्फ पनि उल्लेख्य प्रगति गरेको जनाएको छ । आषाढ मसान्त २०८३ सम्ममा क्यापिटलले ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत चार वटा बन्दमुखी र दुई वटा खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकको ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरेको क्यापिटलले जनाएको छ । सेयर रजिस्ट्रार सेवातर्फ क्यापिटलले २४ वटा कम्पनीलाई सेवा प्रदान गरिरहेको छ । ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत भने हालसम्म २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ । क्यापिटलका अनुसार दशौं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसहित हालसम्म आफ्ना सेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको छ ।