काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन् । एकैदिन देशका विभिन्न स्थानमा आयोजित राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ ।
काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । देशभर रहेका रोयल इन्फिल्डका २२ वटा आधिकारिक डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमकै अवसरमा रोयल इन्फिल्ड नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले एसोसिएसनका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्रै सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोडेर अघि बढाउने उद्देश्य रहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
कम्पनीका अनुसार ‘वन राइड’ को उद्देश्य देशभर रहेका रोयल इन्फिल्ड राइडर र राइडर समुदायलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदान–प्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।
रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर समुदायलाई मोटरसाइकल र राइडिङसँगै सामाजिक गतिविधिमा पनि जोड्दै आएको जनाएको छ । ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वन राइड’ ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ ।