१ लाख ३५ हजार घुस मागेको आरोपमा इन्जिनियरसहित तीन जनामाथि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गराइदिने भन्दै घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठ विरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने भन्दै तीनै जनाले सेवाग्राहीसँग विभिन्न बहाना बनाएर दुःख हैरानी दिएका थिए । उनीहरूले अन्तिम बिल पास गराइदिने सर्तमा १ लाख ३५ हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा घुस रकममध्ये ५० हजार रुपैयाँ सब–इन्जिनियर रविन श्रेष्ठको बैंक खातामा रहेको क्यूआरमार्फत जम्मा गराइएको र बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर सुमन राईले नगद बुझेको अख्तियारले जनाएको छ ।

घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले सुमन राईलाई ललितपुरबाट तथा इटहरी कार्यालयबाट खटिएको टोलीले इन्द्रबहादुर कार्की र रविन श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो ।

आयोगका अनुसार तीनै जनाले पूर्व योजनाअनुसार घुस रकम बाँडेर खाने सहमति गरेको देखिएको छ । उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागसहित मुद्दा दायर गरिएको हो ।

Share News