काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर जोन’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकलाई बीमासम्बन्धी सेवा सहज, सुरक्षित र छिटो उपलब्ध गराउने उद्देश्यले उक्त पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार कस्टमर जोनमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन् ।
डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई आफ्ना बीमासम्बन्धी विवरणमा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उद्देश्यले यो पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कसरी अद्यावधिक गर्ने केवाईसी विवरण ?
ग्राहकले सूर्यज्योति लाइफको आधिकारिक वेबसाइटमा गई ‘कस्टमर जोन’ विकल्पमा क्लिक गरेर प्रक्रिया सुरु गर्न सक्नेछन् । त्यसपछि कम्पनीमा दर्ता गरिएको मोबाइल नम्बर वा इमेल ठेगानामार्फत लगइन गर्न सकिनेछ ।
पहिलो पटक लगइन गर्ने ग्राहकले दर्ता गरिएको मोबाइल नम्बर वा इमेल प्रयोग गरी पासवर्ड सेट गर्न सक्नेछन् । साथै, उपलब्ध व्यवस्थाअनुसार एकपटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) मार्फत पनि लगइन गर्न सकिनेछ ।
लगइन गरेपछि ‘केवाईसी विवरण’ खण्डमा गई कम्पनीको प्रणालीमा रहेको आफ्नो व्यक्तिगत विवरण जाँच गर्न र आवश्यक विवरण अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक राख्दा बीमा सेवा तथा ग्राहकसम्बन्धी आवश्यक प्रक्रिया सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
कस्टमर जोन प्रयोग गर्ने वा केवाईसी विवरण अद्यावधिक गर्ने क्रममा समस्या आएमा ग्राहकले इमेल, ह्वाट्सएप, फेसबुक तथा ल्यान्डलाइनमार्फत कम्पनीसँग सम्पर्क गर्न सक्नेछन् । साथै, नजिकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयबाट पनि आवश्यक जानकारी लिन सकिनेछ ।
कम्पनीले कस्टमर जोनलाई ग्राहकका लागि एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ । आगामी दिनमा यस प्लेटफर्ममा उपलब्ध सेवाहरू थप विस्तार गर्दै बीमासम्बन्धी जानकारी र सेवा प्रवाहलाई अझ छिटो, सरल तथा प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।