विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् ।

अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक जाने कार्यक्रम रहेको छ ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन् ।

अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानेछन् ।

अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । 

Share News