पूजाको घिउलाई खाने घिउ भन्दै बेच्न प्रतिबन्ध

काठमाडौं । पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न नपाइने भएको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो उत्पादनको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । 

विभागले बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा केही खाद्य व्यवसायी तथा उत्पादन उद्योगले वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेल, वासना, प्याराफिन, खनिज तेललगायत रासायनिक पदार्थ मिसाएर पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री गरिरहेको जनाएको छ ।

यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध, प्याकेजिङ तथा प्रस्तुतिको शैली बजारमा पाइने खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानामा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ । 

विभागका अनुसार सरकारले खाद्य प्रयोजनका लागि तोकेको मापदण्डबमोजिमका घिउ, वनस्पति घिउ तथा बेकरी सर्टनिङबाहेक पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिएका चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ ।

यस्ता उत्पादन बिक्री गर्ने व्यवसायीले लेबलको अग्रभागमा ‘खानको लागि होइन’ भन्ने वाक्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। उक्त वाक्य कालो क्रस चिह्नसहित स्पष्ट देखिने गरी ठूलो अक्षरमा राख्नुपर्ने विभागले जनाएको छ । 

साथै यस्ता उत्पादनको लेबलमा ‘घिउ’, ‘बेकरी सर्टनिङ’ वा ‘वनस्पति घिउ’ जस्ता शब्द उल्लेख गर्न पाइने छैन ।

खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टनिङका रूपमा बिक्री गरिने उत्पादनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमको लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ ।

विभागले यस व्यवस्थाविपरीत कार्य गरी खाद्य तथा अखाद्य उत्पादनबीच भ्रम सिर्जना गर्ने, मिसावट गर्ने वा गलत लेबल लगाउने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको छ । 

साथै अखाद्य उत्पादन खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्न नदिन सम्बन्धित व्यवसायीलाई सचेत गराएको छ ।

Share News