काठमाडौं । बडादशैंलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणनालाई तीव्र बनाएको छ। बाँकी मतगणना छिटो सकाएर बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित निर्वाचन समितिले आज औसतमा २५ वटा टोली परिचालन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनालाई थप व्यवस्थित र तीव्र बनाउन विभिन्न पद तथा समूहको मत एकैपटक गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार दुई क्लस्टरको मतगणना बिहानै सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। थप छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। त्यस्तै, पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सकिएको छ।
अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट भूगोलतर्फका खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्य र खुलातर्फ ३५ वर्षमुनिका केन्द्रीय सदस्य पदको मत पनि गणना भइरहेको छ।
मतगणनालाई थप गति दिन बाँकी क्लस्टरको गणना पनि क्रमशः सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना पनि सुरु गर्ने तयारी छ।
त्यसैगरी, दलिततर्फ सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य; अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य; मधेसीतर्फ सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य; खस–आर्यतर्फ सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेसागततर्फ खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना गर्न बाँकी छ। यी पदको गणनाका लागि आवश्यक तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।
एकैपटक धेरै टोली परिचालन गरिएकाले मतगणनाले गति लिएको निर्वाचन समितिको भनाइ छ। बडादशैंअघि निर्वाचन प्रक्रिया टुंग्याउने दबाबका बीच सबै पदको मतगणना निर्धारित समयमै सम्पन्न गर्ने प्रयास भइरहेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणामलाई नेता, कार्यकर्ता र शुभेच्छुकले चासोका साथ हेरिरहेका छन्। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।