‘प्रविधिको दुरुपयोग गरेर अडियो बनाइयो, छानबिनका लागि सहयोग गर्छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूसँग जोडेर सार्वजनिक गरिएको अडियो संवादलाई काल्पनिक र प्रविधिको दुरुपयोगबाट तयार पारिएको सामग्री भएको दाबी गरेका छन् । 

आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै उनले सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग मागसमेत गरेका छन् ।

मंगलबार (आज) सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै सुनारले प्रहरी संगठनभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाउन थालेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका हुन् । 

उनले सार्वजनिक अडियोमा सुनिएको भनिएको आवाज आफ्नो नभएको आशय व्यक्त गर्दै त्यसलाई कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको प्रयोगबाट तयार पारिएको प्रचार सामग्रीको संज्ञा दिएका छन् ।

‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ । विभिन्न आरोप-प्रत्यारोपको सिकार भइरहेको छु,’ उनले लेखेका छन्, ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन् ।’

उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । छानबिनका क्रममा आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको पनि उनले स्पष्ट पारेका छन् । 

‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपिल गर्न चाहन्छु,’ सुनारले भनेका छन्, ‘ममाथि हुने छानबिनका लागि म सबैलाई सघाउन तयार छु ।’

भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निशाना बनाइएको उनको दाबी छ । 

उनले आफूमाथि भइरहेको प्रचारलाई निर्मम अत्याचारको संज्ञा दिँदै त्यसबाट सिर्जित भ्रममा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् ।

‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले लेखेका छन् ।

सुनारको नाम जोडिएको विवादास्पद अडियो संवाद सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ ।

‘जनआस्था साप्ताहिक’ ले अडियो सार्वजनिक गरेको हो । उक्त अडियोमा एक महिलालाई ब्ल्याकमेल गरेको, अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्की दिएको र रकम असुलीको प्रयास गरेको आरोप लगाइएको छ ।

उक्त अडियो केही वर्षअघिको भएको र त्यसमा सुनिएको आवाज सुनारकै भएको दाबी गरिएको छ । तर, अडियोको आधिकारिकता पुष्टि गर्ने स्वतन्त्र प्राविधिक परीक्षण भने भएको छैन । सुनारले भने अडियोसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

यसैबीच, विवाद सार्वजनिक भएपछि रास्वपाले सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री र उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको छ । 

साथै छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

पार्टीले छानबिन प्रक्रिया अघि बढाइरहेका बेला सुनारले आरोप अस्वीकार गर्दै सरकार र पार्टी दुवैलाई सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका हुन् ।

Share News