विराटनगर । संघीयताको कार्यान्वयनलाई प्रभावकारी बनाउने, प्रदेशहरूबीचको समन्वय सुदृढ गर्ने र साझा विकासका योजना अघि बढाउने उद्देश्यसहित विराटनगरमा आजदेखि दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३’ सुरु हुँदैछ।
कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा ६ प्रदेशका मुख्यमन्त्री सहभागी हुन विराटनगर पुगेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सहभागी नहुने भएका छन्। सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू पनि सम्मेलनमा उपस्थित भएका छन्।
प्रदेश सरकारहरूबीच अनुभव आदानप्रदान गर्ने, विकासका सम्भावित साझा क्षेत्र पहिचान गर्ने र संघीय शासन प्रणालीलाई थप संस्थागत बनाउने सम्मेलनको मुख्य उद्देश्य छ। दुई दिनसम्म चल्ने छलफलबाट प्रदेशहरूबीच आर्थिक साझेदारी, अन्तरप्रदेशीय सम्पर्क सञ्जाल, प्राकृतिक स्रोतको उपयोग तथा विपद् व्यवस्थापनमा सहकार्यको साझा खाका तयार गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनको पहिलो दिन उद्घाटनपछि सातै प्रदेशका प्रमुख उपलब्धि, नवीन अभ्यास र सिकाइबारे प्रस्तुतीकरण हुनेछ। छवटा प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आआफ्ना प्रदेशका अनुभव प्रस्तुत गर्नेछन् भने कोशी प्रदेशका तर्फबाट मुख्यमन्त्रीका आर्थिक सल्लाहकारले प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।
पहिलो दिनको मुख्य कार्यसूचीमा संघीयताको संस्थागत विकास र अन्तरप्रदेशीय विकास साझेदारीसम्बन्धी दुई विषयगत सत्र छन्।
संघीयता र संस्थागत विकास, अन्तरप्रदेशीय समन्वय तथा सहकार्य, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको संघीयताको भावी मार्गचित्रबारे संघीयताविद् डा. खिमीलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाको अध्यक्षतामा हुने सत्रमा संवैधानिक कानुनविद् डा. विपिन अधिकारीले टिप्पणी गर्नेछन्।
त्यस्तै, आर्थिक एकीकरण, कनेक्टिभिटी, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र नवप्रवर्तनमार्फत साझा समृद्धि हासिल गर्ने विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश कुमार घिमिरेले दोस्रो कार्यपत्र प्रस्तुत गर्नेछन्। मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलको अध्यक्षतामा हुने सत्रमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले टिप्पणी गर्ने कार्यक्रम छ।
विषयगत छलफलसँगै सम्मेलनमा घोषणापत्रको मस्यौदा तयार पार्ने र निजी क्षेत्रसँग विकास तथा व्यापार विस्तारका सम्भावनाबारे संवाद गर्ने कार्यक्रम पनि राखिएको छ। यसका लागि समानान्तर दुई सत्र सञ्चालन हुनेछन्। पहिलो सत्रमा सम्मेलनको घोषणापत्रमा समेट्नुपर्ने विषय पहिचान गरिनेछ भने दोस्रो सत्रमा मुख्यमन्त्रीहरूले स्थानीय उद्योगी तथा व्यवसायीसँग उत्पादन र निर्यात प्रवर्द्धनबारे छलफल गर्नेछन्।
पहिलो दिनको औपचारिक कार्यक्रमपछि इटहरीस्थित सोल्टी वेस्टइण्डमा सांस्कृतिक कार्यक्रम र रात्रिभोज आयोजना हुनेछ।
सम्मेलनको दोस्रो दिन पहिलो दिन भएका छलफल र प्राप्त निष्कर्षलाई एकीकृत गरी ‘कोशी घोषणा–२०८३ : सात प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता’ लाई अन्तिम रूप दिइनेछ। बिहान १० बजे सातै प्रदेशका मुख्यमन्त्रीले घोषणापत्रमा हस्ताक्षर गरी सार्वजनिक गर्ने कार्यक्रम छ। सोही अवसरमा निजी क्षेत्रका तर्फबाट कोशीको चिनो प्रदान गरिनेछ।
दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी घोषणापत्रका प्रमुख बुँदा र भावी कार्यदिशा सार्वजनिक गरिनेछ। त्यसपछि सहभागीहरू कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमणमा जानेछन्। सम्मेलनको समापन विराटनगरमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आतिथ्यमा आयोजना हुने रात्रिभोजसँगै हुनेछ।