काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनका कारण खुलामञ्चमा कुनै ठूलो क्षति नपुगेको स्पष्ट पार्दै भ्रामक प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।
केही सञ्चारमाध्यममा ‘खुलामञ्च पूरै ध्वस्त भयो’ भन्ने शैलीमा समाचार प्रसारण गरेको भन्दै कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले सोमबार अपराह्न खुलामञ्चको निरीक्षण गर्दै खिचिएको प्रत्यक्ष भिडियो सार्वजनिक गरेर त्यस्ता दाबीको तथ्यगत खण्डन गरेका हुन् ।
हजारौं मानिसको लामो उपस्थिति तथा मञ्च र हल निर्माणका क्रममा सामान्य क्षति हुनु स्वभाविक भए पनि बाहिर हल्ला फैलाइएजस्तो गम्भीर विनाश कतै नभएको शर्माले प्रस्ट पारेका छन् ।
महाधिवेशनका लागि खुलामञ्च प्रयोग गर्ने अनुमति लिने क्रममै पार्टीले काठमाडौं महानगरपालिकासँग लिखित सम्झौता र प्रतिबद्धता गरेको स्मरण गराउँदै उनले सार्वजनिक सम्पत्तिको संरक्षणमा पार्टी पूर्ण सचेत रहेको उल्लेख गरे ।
शर्माले महाधिवेशनका क्रममा भएको थोरै मात्र सामान्य क्षतिको पनि पार्टीकै खर्चमा मर्मतसम्भार गरेर महानगरलाई पूर्ववत् अवस्थामा सुम्पिने बताएका छन् ।
‘सार्वजनिक सम्पत्तिको उपयोग गर्नेले त्यसको मर्मतसम्भार र स्याहार गर्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ भन्नेमा हामी एकदम प्रस्ट छौं,’ शर्माले भने, ‘यसबारे महानगरलाई पहिले नै औपचारिक जानकारी गराइसकिएको छ ।’
जिम्मेवार राजनीतिक संस्कार देखाउँदै कांग्रेसले तत्काल खुलामञ्चको सरसफाइ र सामान्य मर्मत कार्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
कांग्रेसको १५ औं महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा भएको थियो । २४ गतेदेखि भने मतगणनाको काम पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा भइरहेको छ ।