डिला संग्रौला अर्थात् कांग्रेसको पहिलो महिला महामन्त्री

४८ वर्षको संघर्षपछि पार्टीको नेतृत्व तहमा

काठमाडौं । नेपाली कांग्रेस करिब आठ दशक लामो इतिहास बोकेको पार्टी हो । तर, कांग्रेसको शीर्ष तहमा निर्वाचित महिला प्रतिनिधि पुगेको इतिहास भने १५औं महाधिवेशनमा बल्ल रचिएको छ । 

कांग्रेस नेतृ डा. डिला संग्रौला पन्त यतिबेला कांग्रेसको निर्वाचित पहिलो महामन्त्री बनेकी छन् । उनको राजनीतिक यात्रा भने वडा तहदेखिको हो । वडा सदस्यबाट राजनीतिमा होमिएकी डिला महिला संघको अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, सांसद र सहमहामन्त्री हुँदै महामन्त्री बनेकी हुन् ।

कांग्रेसले १५ औं महाधिवेशनमा विधान संशोधन गर्दै महिला कोटा अनिवार्य गरेपछि उनका लागि यो अवसर जुरेको हो । यसअघि भने कांग्रेसमा २ जना महामन्त्री रहने व्यवस्था थियो । जसमा महिलाले पनि खुलाबाटै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता थियो । संशोधित विधानअनुसार अब कांग्रेसमा २ खुला र एक महिला गरी तीन महामन्त्री रहनेछन् । 

उक्त व्यवस्थाअनुसार महिलातर्फ महामन्त्री पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाल उनका प्रतिस्पर्धी थिए । कुल सात हजार १३ मत खसेकामा संग्रौलाले प्रतिस्पर्धी उपाध्याय र खनाललाई हराउँदै संग्रौलाले तीन हजार ११८ मत प्राप्त गरिन् । डिनाले दुई हजार ८६४ र खनालले ८०४ मत पाएको केन्द्रीय निर्वाचन समितिका सदस्य राजु कटुवालले जानकारी दिए । 

उपाध्याय १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएकी नेतृ हुन् भने खनाल राजनीतिसँगै समाजसेवामा परिचित छन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट करिब ९ महिना सहमहामन्त्रीको जिम्मेवारी सम्हालेकी संर्गौलाले भने पार्टीमा अस्तित्व मजबुत बनाउँदै महामन्त्रीमा जित हात पारेकी हुन् । निर्वाचित बनेपछि विकासज्युजकर्मीसँगको कुराकानीमा उनले आफ्नो जितलाई महिलाहरूको साझा जित ठानेकी  छिन् । 

‘नेपाली कांग्रेसलाई समयानुकूल युवापुस्तालाई समेट्दै उचाइँमा पुर्याउन प्रतिवद्ध भएर लाग्नेछु,’ महिला महामन्त्री बन्दै गर्दाको खुसी साट्दै उनी थप्छिन्,‘ मेरो जित पार्टीसँगै सबै पार्टीको भ्रातृ संगठन दिदीबहिनीहरूको जित हो, महिलाको गौरव हो,’ । 

पार्टीको योजना र कार्यक्रमअनुसार आफूलाई समर्पित गरेर अघि बढ्ने उनको भनाइ छ । 

विद्यार्थी कालमा राजनीतिक सक्रियता 

संग्रौला महामन्त्री पदमा यसै निर्वाचित बनेकी होइनन् । उनको राजनीतिक चेतना र संघर्ष विद्यार्थी जीवनदेखि नै विकसित भएको थियो । २०३६ सालको जनमतसंग्रहका बेला कक्षा ९ मा अध्ययनरत उनी तत्कालीन राजनीतिक घटनाक्रमबाट प्रभावित थिइन् । 

स्कूलबाटै राजनीतिक गतिबिधिमा चासो राख्न लागेकी उनी दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईए अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीतिमा जोडिइन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत  राजनीति सुरु गरेकी उनको यात्राले स्वतन्त्र विद्यार्थी युनियनको कार्यसमिति सदस्यमा निर्वाचित भएपछि गति लियो । 

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी बनेकी संग्रौलाले २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिइन् । विराटनगरको तत्कालीन वडा नम्बर १५ को महिला संघ सभापतिको जिम्मेवारीबाट उनको संगठनात्मक यात्रा अघि बढ्यो । त्यसपछि उनी वडा सभापति, नगर समिति सदस्य, महिला संघको जिल्ला सदस्य र कांग्रेसको जिल्ला सदस्य हुँदै पार्टीको केन्द्रीय राजनीतिमा भित्रिइन् । 

पार्टी संगठनमा निरन्तर सक्रिय रहेकी संग्रौलाले २०५३ सालमा सम्पन्न कांग्रेसको नवौँ महाधिवेशनदेखि महाधिवेशन तथा महासमिति प्रतिनिधिको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । 

महिला संघको सभापति हुँदै पार्टीको केन्द्रीय कार्यसमितिसम्म

संग्रौलाको राजनीतिक पहिचान विस्तारमा नेपाल महिला संघको नेतृत्वले अर्को कोशेढुङ्गा बनेको थियो । कांग्रेस मोरङको जिल्ला उपसभापतिको जिम्मेवारीमा रहेकी संग्रौला २०६८ साल माघ २१ गते संग्रौला महिला संघ केन्द्रीय तदर्थ समितिको सभापति नियुक्त भइन् । जहाँ उनले लामो समयदेखि बन्द रहेको संघको केन्द्रीय कार्यालय सञ्चालन गर्दै संगठनलाई देशभर विस्तार गर्ने तथा प्रशिक्षण र संगठन सुदृढीकरणमा भूमिका निर्वाह गरिन् । 

जहाँ महिला अधिकार, राजनीतिमा महिला प्रतिनिधित्व र नेतृत्व विकास उनका प्रमुख सरोकारका विषय रहे । संविधान निर्माणका बेला महिलाका हक सुनिश्चित गर्ने विषयमा आवाज उठाउनुका साथै महिला हिंसाविरुद्धका अभियानमा पनि उनी अग्रपक्तिमै  देखिइन् । महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गराएपछि उनले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् ।

कांग्रेसको १२औं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित बनेकी थिइन् । तर, वडा, क्षेत्रदेखि संघसम्म आफ्नो प्रभाव बढाउन उनले कहिले प्रयास छाडिनन् । नतिजास्वरूप १३औं महाधिवेशनमा महिलातर्फ उनी  सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित केन्द्रीय सदस्य भइन् । 

सांसद हुँदै अध्यापनसम्म

२०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसले संग्रौलालाई समानुपातिक उम्मेदवार बनायो । उनी संविधानसभा सदस्य बन्न भने सकिनन् । संविधानसभा सदस्य बन्ने सपना पूरा नभएपछि उनले पार्टी राजनीतिसँगै विद्यावारिधिको अध्ययनलाई अघि बढाइन् । २०६५ सालमा विद्यावारिधिका लागि त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकी संग्रौलाले २०६८ सालमा ‘विराटनगरका वैष्णव सम्प्रदायहरू’ शीर्षकमा विद्यावारिधि उपाधि हासिल गरेकी थिइन् । संविधानसभा निर्वाचन सदस्य बन्नुअघि उनले विश्वविद्यालयको स्थायी प्राध्यापक पद त्यागेर राजनीतिमा होमिएकी थिइन् । 

पार्टीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई फेरी सघायो । उनी कांग्रेसको तर्फबाट पुनः समानुपातिक सांसद बनिन् । संसद्मा रहँदा उनले बजेट, सरकारी नीति तथा कार्यक्रम, नागरिकतासम्बन्धी विधेयक र श्रमिकका हकहितका विषयमा खरो उत्रिइन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेर विधेयकसम्बन्धी छलफलमा सहभागी भएकी उनले पार्टीमा श्रम तथा रोजगार विभागको जिम्मेवारीसमेत सम्हालिन् ।

महिला सशक्तीकरण, सुशासन, सामाजिक न्याय, श्रमिक अधिकार र राजनीतिक नेतृत्वमा महिलाको प्रतिनिधित्व उनका प्रमुख मुद्दा रहे । लेखनमा समेत सक्रिय उनले समसामयिक राजनीति, महिला अधिकार र संसदीय अभ्याससम्बन्धी लेखहरू प्रकाशित गरेकी छन् । ‘नेपालका सपना अधुरै’ र ‘कांग्रेस अबको बाटो’ उनले लेखेका पुस्तक हुन् ।

Share News