काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आउनुलाई विपद्पछिको पुनःस्थापनामा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरी फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
ढकालले कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पुर्याएको क्षति प्रत्यक्ष देख्दा आफू भावुक र स्तब्ध बनेको उल्लेख गरेका छन् ।
‘बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर साँच्चै हृदयविदारक छ । प्रकृतिको यो विशाल रूप अगाडि हामी कति निरीह रहेछौं भन्ने फेरि एकपटक बोध गराएको छ,’ उनले लेखेका छन् ।
ठूलो विपत्ति र प्रतिकूल परिस्थितिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा अन्य संरचनाको पुनर्निर्माण र मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको देख्दा आफूलाई आशा र ढाडस मिलेको उनको भनाइ छ ।
विशेषगरी अहोरात्रको प्रयासबाट बेनी–जोमसोम सडकखण्ड पुनः सञ्चालनमा आउनु सुखद् र सकारात्मक उपलब्धि भएको ढकालले बताएका छन् ।
उनका अनुसार सडक पुनः सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा ठूलो राहत पुगेको छ । त्यस्तै, मुक्तिनाथ दर्शनका लागि जाने श्रद्धालुका साथै जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक तथा सर्वसाधारणको आवागमन पनि सहज भएको छ ।
ढकालले विपद् व्यवस्थापन, सडक पुनःस्थापना र राहत कार्यमा देखाएको सक्रियताका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा स्थानीय तहप्रति पनि आभार व्यक्त गरेका छन् ।
विशेषगरी सडक पुनः सञ्चालनका लागि दिनरात खटिएका सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायका सदस्यहरूको समर्पण तथा उच्च मनोबलको उनले प्रशंसा गरेका छन् ।
बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावित परिवार तथा स्थानीय बासिन्दाप्रति समवेदना व्यक्त गरेका छन् ।
विपद्ले ठूलो भौतिक क्षति पुर्याए पनि सामूहिक संकल्प, समन्वय र सहकार्यबाट पुनःनिर्माण तथा पुनःस्थापनाको काम सफल हुने विश्वास ढकालले व्यक्त गरेका छन् ।
‘भौतिक क्षति पक्कै ठूलो छ, तर हाम्रो सामूहिक संकल्प र आत्मबल त्योभन्दा धेरै बलियो छ,’ उनले लेखेका छन्, ‘सबैको साथ, समन्वय र सहकार्यबाट हामी यो संकटलाई पार लगाउँदै छिट्टै अझ सबल रूपमा पुनरुत्थान हुनेछौं भन्नेमा म पूर्ण विश्वस्त छु ।’