गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा, बिमस्टेकको बैठकमा सहभागी हुने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी सोमबार अपरान्ह भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

गुरुङ बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास बिमस्टेक अन्तर्गत सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । उक्त बैठक मंगलबार, अक्टोबर १३ मा नयाँदिल्लीमा हुँदैछ ।

बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू सहभागी हुने कार्यक्रम छ । सन्  १९९७ मा स्थापना भएको बिमस्टेकमा गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक हुन लागेको हो।

बैठकमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद नियन्त्रण, सीमापार अपराध तथा सुरक्षा निकायबीचको समन्वय र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

गृहमन्त्रीको पदभार सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । 

Share News