कांग्रेस महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्कालाई थुनामा राख्न अदालतको अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनस्थलबाट पक्राउ परेकी कांग्रेस नेत्री विनिता खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ ।

खड्काविरुद्ध थुनामै राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै अदालतले म्याद थप गर्न अस्वीकार गरेको हो ।

ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार पक्राउ गरेको थियो । 

कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवारसमेत रहेकी खड्कालाई प्रहरीले सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्काले जाहेरवालाहरूबाट रकम लिएको वा ठगीमा संलग्न रहेको देखाउने तथ्य तथा प्रमाण पेस नभएको भन्दै थुनामा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो ।

अदालतले सोही प्रकरणमा पक्राउ परेका अन्य प्रतिवादीहरूको बयानमा समेत खड्काको संलग्नता औँल्याइएको नपाइएको उल्लेख गरेको छ । 

त्यस्तै, पीडितहरूले दिएको जाहेरीमा पनि खड्काले रकम लिएको वा ठगीमा संलग्न रहेको पुष्टि गर्ने तथ्य उल्लेख नभएको अदालतको ठहर छ ।

अदालतको आदेशमा भनिएको छ, ‘पक्राउ परेका अन्य प्रतिवादीहरूको बयानमा निजलाई पोल गरेको अवस्था पनि रहेको नदेखिएको तथा पीडितहरूको तर्फबाट पेश भएको जाहेरी दरखास्त बेहोरामा यी विनिता खड्काले जाहेरवालाहरूबाट रकम लिए खाएको तथा कसुरमा संलग्नता रहेको देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था पनि नदेखिएकोले निजलाई थुनामा नै राखि अनुसन्धान हुनु पर्नेसम्मको अवस्था नदेखिँदा निज विनिता खड्कालाई थुनामा नराखि अनुसन्धान हुनु पर्ने देखिएकोले निजको हकमा थुनामा राखी अनुसन्धान गर्नेगरी म्याद थप गर्न मिलेन ।’

अदालतको आदेशसँगै प्रहरीले अब खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्नेछ ।

Share News