बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ ।

सोमबार (आज) आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरी २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण आरूघाट वितरण केन्द्र, गोरखाका अनुसार हालसम्म यस वितरण केन्द्रअन्तर्गत आरूघाट गाउँपालिका ३ सोती, लिदिङ र स्यामराङका ३ वटा ट्रान्सर्फमर र धार्चेका पुरै क्षेत्रहरूमा लाइन अवरुद्ध छ । 

बाँकी क्षेत्रहरूमा लाइन सुचारू भइसकेको छ । कर्मचारीहरू बिहानै कार्यस्थलमा पुगे पनि सडक अपरान्ह ३ बजे मात्र खुलेकाले काममा अवरुद्ध हुन गएको हो । 

‘अझै रातिसम्म आरूघाटका सम्पूर्ण क्षेत्रहरू चार्ज गर्ने प्रयास जारी रहनेछ । सडक जति खुल्दै जान्छ, सोहीअनुसार लाइन मर्मत गरि सुचारु गर्दै जानेछौं,’ आरूघाट वितरण केन्द्रले भनेको छ । 

मन्त्रालयका अनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ । 

बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५) मेगावाट), माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ ।

मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत सेवा सुचारु गर्न काम थालेको थियो । 

करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो । यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो । 

मन्त्रालयले यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ ।

Share News