ठेक्का खुल्नुअघि ई-जीपीमा चलखेल, ८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ८ जना पक्राउ गरेको छ ।

साइबर ब्यूरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई गत शुक्रबार पक्राउ गरेको हो ।

ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको विषयमा प्राप्त निवेदनका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेको थियो ।

अनुसन्धानका क्रममा संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

Share News