को हुन् सचिवमा बढुवा भएका मैनाली ?

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीलाई नेपाली इन्जिनियरिङ सेवा, सामूहीकरणतर्फको सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि सचिव बढुवा समितिको बैठकले मैनालीलाई प्राविधिक सचिवका लागि सिफारिस गरेको थियो ।

मैनाली शहरी विकास मन्त्रालयमा सात वर्षभन्दा बढी समयदेखि सहसचिवका रूपमा कार्यरत थिए । शहरी विकास क्षेत्रसँग सम्बन्धित नीति निर्माण तथा कार्यान्वयनमा लामो समय काम गरेका उनले राष्ट्रिय शहरी विकास रणनीति र राष्ट्रिय शहरी नीति, २०७९ को मस्यौदा तयार गर्ने कार्यमा समेत योगदान गरेका छन् ।

मैनालीले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

२०७२ सालको भूकम्पपछि विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) तयार गर्ने तथा आवास पुनर्निर्माण कार्यक्रमको अवधारणा विकास गर्ने कार्यमा पनि उनी संलग्न थिए ।

शैक्षिक रूपमा मैनालीले बेल्जियमको युनिभर्सिटी अफ लुभेनबाट आर्किटेक्चरमा स्नातकोत्तर गरेका छन् । उनले बेलायतको युनिभर्सिटी अफ न्युक्यासल अपन टाइनबाट प्रशिक्षण लिनुका साथै युरोपियन स्पेसियल प्लानिङमा स्नातकोत्तर तहको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।

सचिवमा बढुवा भएसँगै मैनालीले पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक सचिवका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

Share News