काठमाडौं । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सोमबार आकस्मिक रूपमा आम निर्वाचनको घोषणा गरेका छन् ।
स्पेनमा अर्को आम निर्वाचन सन् २०२७ को गर्मीयाममा हुने तय थियो । तर अब नोभेम्बर २९ मा आम निर्वाचन हुने भएको छ ।
यो घोषणा आवास संकटलाई लिएर देशभर विरोध प्रदर्शन भएपछि आएको हो ।
८७ वर्षीया एक महिलाको घरभाडा अचानक बढाइएको घटना सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भएका थिए । त्यसपछि सरकारले आवास संकट समाधान गर्न विभिन्न प्रस्ताव अघि सारेको थियो ।
सान्चेज नेतृत्वको सरकारले आवास संकट समाधानका लागि केही महत्त्वपूर्ण प्रस्ताव संसदमा पेश गरेको थियो । तर ती प्रस्तावले संसदमा आवश्यक समर्थन जुटाउन नसकेपछि अस्वीकृत भएका थिए ।
ती महिलाको घरभाडा मासिक ५०० युरोबाट बढाएर २ हजार ६५० युरो पुर्याइएको थियो । पछि भाडा घटाएर १ हजार ६५० युरो कायम गरिए पनि यो उनको मासिक १ हजार ३५० युरो पेन्सनभन्दा ३०० युरो बढी थियो ।
यो घटना सार्वजनिक भएपछि आवासको समस्या र बढ्दो भाडाविरुद्ध स्पेनभर प्रदर्शन भएका थिए ।
सान्चेज सन् २०१८ देखि स्पेनको प्रधानमन्त्री छन् । यद्यपि अधिकांश सर्वेक्षणले आगामी निर्वाचनमा कन्जरभेटिभ पार्टीले सबैभन्दा बढी सिट जित्ने देखाएका छन् ।