काठमाडौं । इजरायली सेनाले गाजा सहरमा गरेका पछिल्ला हवाई आक्रमणहरूमा प्यालेस्टिनी इस्लामिक जिहादका दुई प्रमुख कमाण्डर तथा एक आवासीय भवनमा चार महिलासहित पाँचजना सर्वसाधारण मारिएका छन् ।
इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले युद्धविराम सम्झौता उल्लंघन गरी सैन्य क्षमता पुनःस्थापना गरिरहेको आरोप लगाउँदै लडाकु समूहका कमाण्डरहरूलाई निशाना बनाएको जनाएको छ भने अर्कोतर्फ आवासीय क्षेत्रमा भएको बमबारीको सर्वत्र निन्दा भएको छ ।
गाजा सहरमा शुक्रबार र शनिबार भएका श्रृंखलाबद्ध हवाई हमलाहरूले युद्धग्रस्त क्षेत्रमा मानवीय तनाव थप चर्काएको छ ।
इजरायली सेनाद्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार शुक्रवार इस्लामिक जिहादको रकेट संयन्त्र हेर्ने सुजैया बटालियनका कमाण्डर अहमद महमुद हर्ब रामलावी र एन्टी—ट्याङ्क मिसाइल समूहका प्रमुख मुनिर इब्राहिम मसरलाई लक्षित गरी मारिएको हो ।
सेनाले दुवै जनाले संगठनको सैन्य सामथ्र्य पुनःनिर्माण गर्न भूमिका खेलिरहेको दाबी गरेको छ । इजरायलले सर्वसाधारणको क्षति कम गर्न सटीक हतियार र हवाई निगरानी प्रयोग गरिएको जिकिर गरे पनि शनिबार बिहान पश्चिम गाजा सहरस्थित एक आवासीय अपार्टमेन्टमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।
प्यालेस्टिनी स्रोतहरूका अनुसार अल–असाला भवनको भुइँतल्लामा भएको आक्रमणमा मारिनेहरूमा चार जना महिला रहेका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी अल–शिफा मेडिकल कम्प्लेक्समा पुर्याइएको छ ।
प्रत्यक्षदर्शी तथा स्थानीय बासिन्दाहरूले आवासीय भवनमा भएको बमबारीबाट ठूलो भौतिक क्षति भएको र भग्नावशेषमुनि अन्य व्यक्तिहरू पुरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसैबीच, इजरायलको सरकारी सञ्चारमाध्यम कान टिभीले रातभर गरिएको आक्रमणमा हमासका वरिष्ठ अधिकारी अली अल–अमौदीलाई लक्षित गरिएको बताए पनि यसको स्वतन्त्र पुष्टि इजरायली सेना वा हमास दुवै पक्षबाट हुन सकेको छैन ।
प्यालेस्टिनी विदेश मन्त्रालयले आवासीय भवनमा भएको आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै यसलाई प्यालेस्टिनी नागरिकविरुद्ध इजरायलले गरेको निरन्तर ‘युद्ध अपराध’को संज्ञा दिएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले पछिल्लो ४८ घण्टामा मात्र अस्पतालहरूमा सात शव र २० जना घाइते भर्ना भएको तथ्यांक सार्वजनिक गरेका छन् ।