काठमाडौं । फ्लाई दुबईको विमानका कप्तानमाथि क्र्यास एक्स गरी विमान नियन्त्रणमा लिन खोज्ने सहपाइलटले आतंकवादी आक्रमणको प्रयास गरेको संयुक्त अरब इमिरेट्स (यूएई)ले जनाएको छ ।
यूएईका महान्यायाधिवक्ता हमद सैफ अल–शम्सीले शनिबार सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै सहपाइलटले उडानकै क्रममा आफ्नो योजना कार्यान्वयन गर्न खोजेको बताएका छन् ।
उनका अनुसार सहपाइलटले ककपिटभित्र क्र्यास एक्स (आपतकालीन बञ्चरो) प्रयोग गरी कप्तानमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले विमानको नियन्त्रण आफ्नो हातमा लिन खोजेको यूएईले जनाएको छ ।
अल–शम्सीले घटनाबारेको अनुसन्धान जारी रहेको बताउँदै आक्रमणको पूर्ण परिस्थिति, उद्देश्य तथा सम्भावित सम्बन्धहरू पत्ता लगाउने काम भइरहेको जानकारी दिएका छन् । घटनास्थलबाट प्राप्त भौतिक तथा डिजिटल प्रमाणको प्राविधिक परीक्षण र विश्लेषणसमेत भइरहेको उनले बताए ।
यूएईका राष्ट्रपतिका वरिष्ठ सल्लाहकार अनवर गर्गाशले पनि उक्त घटनालाई आतंकवादी गतिविधिका रूपमा उल्लेख गरेका छन् । उनले चरमपन्थविरुद्धको संघर्ष अझै समाप्त नभएको भन्दै घृणायुक्त अभिव्यक्तिमार्फत आतंकवादलाई उचित ठहराउने प्रयास पनि खतराको हिस्सा भएको बताएका छन् ।
सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको एफजेड १०७३ उडानमा १७२ यात्रु तथा चालक दलका सदस्य थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विमानमा सवार अधिकांश व्यक्ति इजरायली नागरिक रहेको बताएका छन् । उनका अनुसार आक्रमणकारीले विमान नै दुर्घटनाग्रस्त गराउन खोजेका थिए ।
तर विमानलाई सुरक्षित रूपमा साउदी अरबको तबुक विमानस्थलमा अवतरण गराइएको थियो । सञ्चारमाध्यमका रिपोर्ट तथा प्रत्यक्षदर्शीका अनुसार कप्तानमाथि आक्रमण गरेपछि यात्रु तथा चालक दलका सदस्यहरूले सहपाइलटलाई नियन्त्रणमा लिएका थिए ।
यूएईका महान्यायाधिवक्ताले आक्रमणमा प्रयोग भएको हतियार ‘क्र्यास एक्स’ रहेको पहिलोपटक स्पष्ट गरेका हुन् । बेलायतको नागरिक उड्डयन प्राधिकरण र रोयल एयर फोर्स म्युजियमका अनुसार ठूला विमानमा आपतकालीन अवस्थामा ककपिटबाट बाहिर निस्कनका लागि चालक दलले प्रयोग गर्न सक्ने यस्तो बञ्चरो राखिएको हुन्छ ।
एसोसिएटेड प्रेसले घटनाबारे जानकार तीन व्यक्तिलाई उद्धृत गर्दै सहपाइलट ओमानी नागरिक हमाम अल–हमामी रहेको जनाएको छ । तीमध्ये एक जना खाडी क्षेत्रका र अर्का पश्चिमी देशका कूटनीतिज्ञ रहेको बताइएको छ ।
उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका थिए । यद्यपि सीएनबीसीले सहपाइलटको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
नेतान्याहुले घाइते विमान चालक भारतीय नागरिक स्मित मच्छर रहेको बताएका छन् । रियादस्थित भारतीय दूतावासले मच्छर तबुकस्थित अस्पतालमा उपचाररत रहेको र उनको अवस्था स्थिर रहेको जनाएको थियो । पछि फ्लाई दुबईले कप्तानलाई यूएई फर्काइएको जानकारी दिएको छ ।
इजरायली प्रधानमन्त्रीले ककपिटमा प्रवेश गरेर विमान नियन्त्रणमा लिन सहयोग गर्ने यात्रु यानिभ हायुनलाई ‘नायक’ भन्दै उनको बहादुरीको प्रशंसा गरेका छन् । उनले हायुन विश्वस्तरीय सम्मानको हकदार रहेको बताएका छन् ।
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ को तथ्यांकअनुसार बोइङ ७३७ म्याक्स ८ विमानले आपतकालीन संकेत प्रसारण गर्नुअघि असामान्य रूपमा तीव्र उचाइ परिवर्तन गरेको थियो ।
फ्लाइटराडार २४ का अनुसार एफजेड १०७३ विमान केवल २९ सेकेन्डमा १४ हजार फिटभन्दा बढी उचाइबाट तीव्र रूपमा तल झरेको थियो । ट्रान्सपोन्डर तथ्यांकमा विमानको ठाडो गति प्रतिमिनेट करिब ३० हजार फिट तल झर्नेदेखि १० हजार फिट माथि उक्लिनेसम्म देखिएको थियो ।
सामान्य उडानका क्रममा विमानको ठाडो गति प्रतिमिनेट ४ हजार फिटभन्दा माथि वा तल पुग्नु निकै दुर्लभ हुने फ्लाइटराडार २४ ले जनाएको छ ।