इरानको दाबी– अमेरिकाले मध्यस्थमार्फत वार्ताको प्रस्ताव पठायो

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले पछिल्ला दिनमा एक मध्यस्थमार्फत केही प्रस्ताव पठाएको दाबी गरेका छन् ।

बीबीसी फारसीका अनुसार संसद्को बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकी अधिकारीहरू सञ्चारमाध्यममा केही अर्कै कुरा गर्छन्, तर पछिल्लो समय उनीहरूले मध्यस्थहरूमार्फत प्रस्ताव पठाएका छन् ।’

यद्यपि, गालिबाफले ती प्रस्तावबारे विस्तृत जानकारी दिएनन् । उनले इस्लामाबाद समझदारीका आधारमा अघि सारिएका इरानका सात सर्त पूरा नभएसम्म होर्मुज जलडमरु नखोलिने बताए ।

यसैबीच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्अन्तर्गत काम गर्ने छ सदस्यीय समितिले अमेरिकासँग हुने वार्ताको नेतृत्व गर्ने बताएका छन् ।

यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि ‘छ सदस्यीय टोली’को उल्लेख गरेका थिए । उनले अमेरिकासँग सम्बन्धित विषयमा यही टोलीलाई निर्णय गर्ने अधिकार रहेको र सबै निर्णय टोलीसँग समन्वय गरेर कार्यान्वयन गरिने बताएका थिए ।

सीबीएसलाई दिएको अन्तर्वार्तापछि इरानी सरकारी सञ्चारमाध्यमले उक्त समितिका सदस्यबारे जानकारी सार्वजनिक गरेका थिए । 

समितिमा राष्ट्रपति, संसद्का सभामुख, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव, सशस्त्र बलका प्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर–इन–चीफ र अर्का एक सदस्य रहेका छन् ।

बघाईको पछिल्लो भनाइले अब्बास अराघ्ची उक्त समितिका सदस्य रहेको पुष्टि गरेको छ ।

बघाईले पत्रकार सम्मेलनमा भने, ‘यस उच्चस्तरीय समितिमा विदेशमन्त्रीको उपस्थितिले कूटनीतिक संयन्त्र राष्ट्रिय सुरक्षासँग सम्बन्धित ठूला निर्णयहरूसँग पूर्ण रूपमा समन्वयमा काम गरिरहेको प्रमाणित गर्छ ।’

Share News