काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् ।
उनले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उनले भने ।
कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको राईले बताए ।
‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ उनले थपे ।
राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।