काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताएका हुन् ।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।
‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ उनले भने ।
उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताए ।
‘त्यसको एउटा योजना बनाऔं । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने ।
भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए ।
‘अब पाठ सिकौं । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने ।