काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा पात्र परिवर्तन भए पनि राजनीतिक प्रवृत्ति भने परिवर्तन हुन नसकेको बताएका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले मुलुकको समस्या कुनै व्यक्ति विशेषमा नभई राजनीतिक व्यवस्थामै रहेको दाबी गरे ।
‘राजनीतिका पात्र फेरिए, तर प्रवृत्ति फेरिएन,’ उनले भने, ‘समस्या व्यक्तिमा होइन, व्यवस्थामा छ ।’
लिङ्देनले विगतमा विपक्षीमाथि गोली चलाउने प्रवृत्ति रहेको उल्लेख गर्दै अहिले त्यसको स्वरूप फेरिएको टिप्पणी गरे ।
उनले अहिले गोलीभन्दा पनि खतरनाक ढंगले गोली चल्ने अवस्था देखिएको बताए ।
‘हिजो विपक्षमा गोली चल्थ्यो, अहिले गोलीभन्दा खतरा गोली चल्ने गरेको छ,’ उनले भने ।
राप्रपा अध्यक्ष लिङ्देनको उक्त टिप्पणी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ लक्षित थियो । उनले नयाँ राजनीतिक शक्ति र नेतृत्वको उदय भए पनि पुरानै राजनीतिक प्रवृत्ति दोहोरिन थालेको संकेत गरे ।
लिङ्देनले व्यक्ति परिवर्तनलाई मात्रै राजनीतिक परिवर्तनका रूपमा बुझ्न नहुने बताए ।
उनका अनुसार राजनीतिक प्रणाली र त्यसले निर्माण गर्ने संस्थागत संरचनामा परिवर्तन नगरेसम्म पात्र फेरिए पनि राजनीतिक कार्यशैली र प्रवृत्तिमा अपेक्षित सुधार आउन नसक्ने अवस्था रहन्छ ।