नियन्त्रित लोकतन्त्र जनतालाई स्वीकार्य छैनः शरतसिंह भण्डारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनैपनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

काठमाडौंको खुलामञ्चमा आइतबारदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सम्बोधन गर्दै मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको उल्लेख गरेका छन् । 

उनले वर्तमान चुनौतीहरू पार लगाउन प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता अपरिहार्य रहेको औंल्याए । 

नेता भण्डारीले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाहरूको तीब्र विदेश पलायनले मुलुक आक्रान्त बनेको बताए । 

उनले गत महिना भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । 

वर्तमान संविधानलाई समयानुकूल परिमार्जन र संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप समावेशी र परिणाममुखी बनाउनुपर्नेमा नेता भण्डारीले जोड दिए । 

बदलिँदो संवेदनशील भू–राजनीतिक परिवेशमा नेपालले सन्तुलित कुटनीति अवलम्बन गरेर मात्र राष्ट्रिय हितको रक्षा गर्न सक्ने उनको भनाइ छ । 

लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय र जनअधिकारको सङ्कुचन हुन नदिन सचेत रहनुपर्ने उनले उल्लेख गरे ।

Share News