राजनीतिको सार्थकता जनताको जीवन परिवर्तनमा छः महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार र राष्ट्रको प्रतिष्ठासँग जोडिएको बताएका छन् । 

काठमाडौंको खुलामञ्चमा आइतबारबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधान मुख्य भएको जिकिर गरेका हुन् ।

महामन्त्री घिमिरेले लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको स्वीकार गरे । 

उनले नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको सपनालाई स्मरण गर्दै, देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु नै पार्टीको मुख्य अभीष्ट हुनुपर्नेमा जोड दिए । 

महामन्त्री घिमिरेले देशका प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अगाडि बढ्न आग्रह गरे । 

घिमिरेले पार्टीको यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गरे । 

सहिदहरूको बलिदानी र आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै आम नागरिकको भावनाअनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ । 

लोकतन्त्रको सार भनेको पंक्तिमा उभिएको अन्तिम नागरिकको जीवन बदल्नु हो भन्दै उनले उपस्थित प्रतिनिधिहरूलाई नयाँ संकल्पका साथ अघि बढ्न आह्वानसमेत गरे । 

Share News