उत्पादन र रोजगारी सिर्जना गर्ने शिक्षा आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउनुपर्ने बताएका छन् ।

सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउने वा प्रमाणपत्र हासिल गर्नेमा मात्र सीमित हुन नहुने बताए ।

उनले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने माध्यम भएको उल्लेख गरे ।

नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले शिक्षाले विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

समय परिवर्तनशील भए पनि आधारभूत मानवीय मूल्यलाई अझ बलियो बनाउन आवश्यक रहेको उनले बताए । सूचना प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा भविष्यका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी नेपालको शैक्षिक प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताए। ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु शिक्षाको प्रमुख दायित्व रहेको उनले उल्लेख गरे ।

त्यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान पुग्ने गरी स्वदेशमै उत्पादन तथा रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सक्ने शिक्षा आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए ।

उनले हरेक नागरिकमा देशभक्तिको भावना विकास गर्ने शिक्षामा समेत विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

Share News