काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योग सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल भएको छ ।
भैरहवास्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालयमा आयोजित बैठकमा कृषि उत्पादनको व्यावसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको हो ।
बैठकमा कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार, उद्योग सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत तथा बजार व्यवस्थापनलगायतका विषयमा उद्योगी–व्यवसायीले आफ्ना धारणा र सुझाव राखेका थिए ।
उद्योगी–व्यवसायीका समस्या र सुझाव सुनेपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् ।
उनले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना तथा स्वदेशी उत्पादनको बजार विस्तार गर्न कृषि उद्योगको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
मन्त्री चौधरीले उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् ।
बैठकको समापन गर्दै उनले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिने बताइन् । कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।