काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्त्व बोकेको स्थलमा हुन लागेको बताएका छन् ।
महाधिवेशनस्थल खुलामञ्चमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुलामञ्चको विशेष महत्त्व रहेको बताए । २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहका लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुलामञ्चबाट गरेको उनले बताए ।
२०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेसका नेता गणेशमान सिंहले पनि खुलामञ्चबाटै परिवर्तनको उद्घोष गरेको उनले बताए । नेपाली कांग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्त्वपूर्ण स्थानमा पार्टीले १५औँ महाधिवेशन गर्न लागेको उनको भनाइ छ ।
महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उनको भनाइ छ ।
महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्ने उनले बताए । युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपालको राजनीतिमा ऐतिहासिक र प्रतीकात्मक महत्त्व छ । यही भूमि हो, जसले २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि सार्वजनिक रूपमा ऐतिहासिक पहिलो सम्बोधन २०३६ सालको जनमतसंग्रहको सन्दर्भमा यही स्थलमा, यही बगलमा गर्नुभएको थियो । बीपी कोइरालाको आह्वान मात्रै थिएन, गणेशमानजीले २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गर्नुभएको हो ।'
उनका अनुसार आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ ।
बन्दसत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा कांग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए ।
महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने उनले बताए । उनले विधानमा केही परिवर्तन यसअघि नै भइसकेको बताए । उनले महाधिवेशनले नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि बताए ।
महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको उनले बताए । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकोले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्ने उनको भनाइ छ ।
महाधिवेशनका गतिविधि, बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना प्रतिनिधिलाई क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा प्रत्येक दिन दुई पटक पत्रकार सम्मेलन गरी छलफलमा उठेका विषय, प्रतिनिधिको धारणा र पार्टीका गतिविधिबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।