कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, १०० डिजिटल बोर्डबाट मात्रै प्रचार

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण दुई दिन ढिला हुन लागेको १५औं महाधिवेशनमा कुनै तामझाम नगर्ने भएको छ । 

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विपत्तिमा हजारौं मानिस अझै बेपत्ता रहेको, सयौं परिवार बिछोडिएको र बालबालिका टुहुरा भएको अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनमा प्रचारप्रसारका नाममा तामझाम नगर्ने निर्णय कांग्रेसले गरेको हो ।

कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री सहर तथा बजारमा नराखिने भएको छ । त्यसको सट्टा बिहीबारदेखि नै काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरका करिब १०० डिजिटल बोर्डमार्फत महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको  हो ।

निर्वाचनमा उम्मेदवार बन्ने नेताहरूलाई पनि डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसको १५औं महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । 

महाधिवेशनका लागि १५ वटा समिति गठन गरी प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको कांग्रेसले जनाएको छ । 

उद्घाटनस्थल खुलामञ्चमा मञ्च निर्माण तीव्र पारिएको छ भने त्यहीँ बन्द सत्रका लागि छुट्टाछुट्टै हल तयार पारिँदैछ ।

कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने कांग्रेसले जनाएको छ ।

आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर महाधिवेशन प्रतिनिधिको बसोबास व्यवस्थापनको समन्वय गरिरहेको छ । आवास र कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने सहभागी आफैले बेहोर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा आवासको व्यवस्था गरिएको छ । आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराइनेछ । बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भने भृकुटीमण्डपमा गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । 

प्रतिनिधिहरूले असोज १८ गते उद्घाटन, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा भाग लिने कांग्रेसले जनाएको छ ।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतका नेताहरू सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ ।

अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् । अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि सुनिश्चित हुने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।

महाधिवेशनका सूचना नियमित रूपमा सार्वजनिक गर्न कांग्रेसले अब दैनिक पत्रकार सम्मेलन पनि गर्ने भएको छ । 

भोलिदेखि कार्यक्रमस्थलमा रहने मिडिया सेन्टरबाटै पत्रकार सम्मेलन गरिने प्रवक्ता तथा १५औं महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले जानकारी दिएका छन् ।

Share News