काठमाडौं । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आउटलेटबाट पनि खाना पकाउने ग्यास बिक्री वितरण गर्न दिने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास बिक्री वितरणको अनुमति दिन लागिएको जानकारी दिएका हुन् ।
शुक्रबार संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले ग्यास वितरणमा सुरक्षा निकायलाई समेत जोड्ने तयारी भइरहेको बताएका हुन् ।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले यसअघि नै पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन् ।
ती निकायका ग्याससमेत बिक्री गर्न सके आपूर्ति व्यवस्थापन थप सहज हुने मन्त्रालयको अपेक्षा छ ।
‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्,’ सचिव तामाङले भने, ‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ ।’
ग्यासको सम्भावित अभावलाई समेत मध्यनजर गर्दै आपूर्ति सहज बनाउन आवश्यक प्रबन्ध मिलाउन लागिएको उनले बताए ।