बाबु र छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा एकै परिवारका बाबु र छोरा महाधिवेशन प्रतिनिधि बनेका छन् । कास्की क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापा र छोरा सौगात थापा निर्वाचित भएका हुन् ।

३५ वर्ष मुनिका युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा छोरा थापाले उम्मेदवारी दिएका थिए । बुबा बिन्दु कुमार थापाले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिएका थिए । दुवै बाबु र छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।  

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि  छोरा सौगातले यो परिणाम व्यक्तिगत उपलब्धि मात्र नभइ युवामाथि गरिएको विश्वास भएको बताएका छन् । यो विश्वासले नेपाली काँग्रेसलाई अझ गतिशील, सुदृढ र पुस्तान्तरणमुखी बनाउने अपेक्षाको जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन् ।

त्यसैगरी, बुबा बिन्दु थापाले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिले देखाएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् । आगामी दिनमा पनि नेपाली कांग्रेस र लोकतान्त्रिक मूल्य मान्यताप्रति निरन्तर समर्पित रहँदै यहाँहरूको विश्वासलाई सम्मान गर्ने उनले धारणा व्यक्त गरेका छन् ।

अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई संगठन सुदृढीकरणमा जोड्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

थापा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका छन् ।  थापाले गण्डकी प्रदेशको सांसद हुँदादेखि प्रदेश सरकारबाट पाउने पारिश्रमिक एवम् अन्य सरकारी सेवा, सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन १८ गतेबाट सुरु हुँदैछ ।  

Share News