काठमाडौं । नेपाली कांग्रेस गुल्मीले पार्टीभित्रको विवाद र समानान्तर गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेता–कार्यकर्तालाई वेदबहादुर थापा मगर नेतृत्वको जिल्ला संगठनमा समाहित हुन आह्वान गरेको छ । थापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको इतर समूहका सभापति हुन् ।
कांग्रेस गुल्मीका सचिव रवीन्द्र घिमिरेले जारी गरेको अपिलमा पार्टीको आधिकारिकता, झन्डा र चुनाव चिह्नका विषयमा भ्रम सिर्जना गरी संगठनलाई विभाजन गर्न खोजिएको दाबी गरिएको छ । त्यस्ता गतिविधिले पार्टीका इमानदार सदस्यमा अन्योल सिर्जना गरेको अपिलमा उल्लेख छ ।
घिमिरेले पार्टीभित्रै दाउपेच र षड्यन्त्रमार्फत नेता–कार्यकर्ताको तेजोबध गर्ने नियोजित गतिविधि भइरहेको आरोप लगाउँदै त्यस्ता प्रयासले कांग्रेसलाई कमजोर बनाउने बताएका छन् ।
‘पार्टीको झन्डा, चुनाव चिह्न र आधिकारिकताजस्ता विषयमा भ्रम सिर्जना गरी पार्टीलाई विभाजन गर्न खोजियो,’ अपिलमा भनिएको छ ।
उनले लोकप्रियतावादको आवरणमा पार्टीभित्र विभाजनको गतिविधि अघि बढाइएको दाबीसमेत गरेका छन् । यस्ता गतिविधिले पार्टीभित्रको बन्धुत्व र आपसी विश्वास कमजोर बनाउने उनको भनाइ छ ।
अपिलमा कांग्रेसको सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध नेता–कार्यकर्तालाई वेदबहादुर थापा मगरले नेतृत्व गरेको गुल्मी कांग्रेसमा समाहित हुन आग्रह गरिएको छ ।
त्यसैगरी, अपिलमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र डा. शशांक कोइरालाको संयोजनमा अघि बढेको १५औँ महाधिवेशनमा वडा तहदेखि सहभागी हुन पनि आह्वान गरिएको छ ।