काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रोकिएका प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका प्रक्रिया विवाद समाधान गर्दै शुक्रबारबाट अघि बढाइने भएको छ । निर्वाचन प्रक्रिया र महाधिवेशन प्रतिनिधि चयनमा देखिएका विवादलाई सम्बन्धित पक्षसँग छलफल गरेर टुंग्याउँदै बाँकी अधिवेशन सम्पन्न गर्ने तयारी केन्द्रीय निर्वाचन समितिले गरेको हो ।
क्षेत्रीय अधिवेशनअन्तर्गत हालसम्म स्याङ्जा–२, सिन्धुपाल्चोक–२, काभ्रे–२, दैलेख–२ र काठमाडौं–३ मा निर्वाचन प्रक्रिया तथा महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद देखिएको थियो । त्यस्तै, मोरङ–६ र सुनसरी–४ मा मतदानस्थलमै झडप र तोडफोड भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको थियो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विवाद देखिएका अधिकांश क्षेत्रमा समाधानको प्रक्रिया अघि बढिसकेको छ । विवाद मिलाइएका क्षेत्रमा शुक्रबारबाट रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी रहेको कटुवालले जानकारी दिए ।
‘सुर्खेतको १ र २ बाहेक विवाद सुल्झाउन बाँकी क्षेत्र छैन,’ कटुवालले भने ।
उनका अनुसार कांग्रेसका ९९ प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएर नतिजा आउने क्रम जारी छ । थप ५१ क्षेत्रमा मतगणना जारी छ । बाँकी विवादित क्षेत्रमध्ये सुर्खेत–१ र २ को विवाद भने अझै निरूपण हुन सकेको छैन ।
निर्वाचन समितिले विवाद समाधानका लागि एउटै विधि अपनाउनुको सट्टा विवादको प्रकृतिअनुसार प्रक्रिया अघि बढाउने तयारी गरेको छ । जहाँ मतदान रोकिएको छ, त्यहाँ बाँकी मतदान सम्पन्न गर्ने, मतदान सकिएको तर मतगणना रोकिएको ठाउँमा गणना अघि बढाउने र महाधिवेशन प्रतिनिधि चयनमा विवाद भएका क्षेत्रमा सम्बन्धित पक्षसँग सहमति खोजेर प्रक्रिया टुंग्याउने समितिको रणनीति छ ।
यसअघि सिन्धुपाल्चोक–२, काभ्रे–२, दैलेख–२ र काठमाडौं–३ मा निर्वाचन प्रक्रिया तथा प्रतिनिधि चयनलाई लिएर फरक–फरक प्रकृतिका विवाद देखिएका थिए । कतिपय क्षेत्रमा मतदानको वैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो भने कतिपयमा सर्वसम्मतिको नाममा निर्वाचन प्रक्रिया प्रभावित पार्न खोजिएको भन्दै असन्तुष्टि जनाइएको थियो ।
मोरङ–६ र सुनसरी–४ मा भने मतदानस्थलमै तनाव भएको थियो । झडप तथा तोडफोडपछि ती क्षेत्रमा निर्वाचन प्रक्रिया रोकिएको थियो । निर्वाचन समितिले सम्बन्धित पक्षसँग छलफल गरी वातावरण सहज बनाउने र त्यसपछि रोकिएको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार क्षेत्रीय अधिवेशन कांग्रेसको महाधिवेशन प्रक्रियाको महत्त्वपूर्ण चरण हो । यही अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले समयमै तोकिएको अधिवेशन गर्न नसक्ने क्षेत्र महाधिवेशनमा प्रतिनिधित्व गर्नबाट वञ्चित हुने चालिसेले जानकारी दिए ।
अर्का एक नेताका अनुसार प्रतिनिधिको वैधता र निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि उठेका प्रश्न टुंग्याएर मात्रै केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्नुपर्ने बाध्यता निर्वाचन समितिसामु छ । यससँगै कांग्रेसले क्षेत्रीय अधिवेशनको बाँकी काम छिटो टुंग्याएर महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार गर्ने तयारी गरेको छ ।