काठमाडौं । रुसले युक्रेनमा फेरि ठूलो हमला गरेको छ । युक्रेनका प्रधानमन्त्री सेरही कोरेत्स्कीका अनुसार वसन्त ऋतुयता पहिलोपटक रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा यति ठूलो हमला गरेको हो ।
यसपटकको हमलाको मुख्य निशाना युक्रेनको राजधानी किएभ र त्यस आसपासको क्षेत्र बनेको छ ।
कोरेत्स्कीका अनुसार रातभर भएका हमलामा देशभर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये किएभ क्षेत्रका एक बालक पनि छन् ।
हमलाका कारण विद्युत् आपूर्तिमा समेत असर परेको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले राजधानीमा ‘कठिन रात’पछि ८ हजार घरमा विद्युत् आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले हमलाका निशानामध्ये त्रिपिल्स्का पावर स्टेसन पनि रहेको जनाएको छ । यो किएभमा विद्युत् आपूर्ति गर्ने सबैभन्दा ठूलो केन्द्र हो ।
टेलिग्राममार्फत जारी बयानमा कोरेत्स्कीले भनेका छन्, ‘गर्मीको मौसम सकिएपछि सायद कुनै दिन पनि यस्तो बितेको छैन, जब शत्रुले हाम्रो ऊर्जा पूर्वाधारमा हमला नगरेको होस् ।’
‘तर, पछिल्लो हिटिङ सिजन सकिएपछि यस स्तरको ठूलो र संयुक्त हमला पहिलोपटक भएको हो,’ उनले थपे ।
युक्रेनले यसअघि नै रुसले आफ्नो विद्युत् सञ्जालमाथि फेरि लामो समयसम्म हमला गर्न सक्ने आशंका गरेको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता हरेक जाडोयाममा यस्ता हमला हुँदै आएका छन् ।
प्रधानमन्त्री कोरेत्स्कीका अनुसार रातभर युक्रेनका ११ क्षेत्रलाई निशाना बनाइएको थियो । हमलाका क्रममा आवासीय भवन, सामाजिक पूर्वाधार, नागरिक उद्योग तथा रेलवे सञ्जालमा समेत क्षति पुगेको छ ।