गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

ट्र्याक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।

रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडकखण्डमा ट्र्याक खुले पनि सडकलाई थप व्यवस्थित बनाउन ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताए ।

सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्दै उनले सडक मर्मत तथा पुनःनिर्माणमा आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरे ।

यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको तयारीसमेत अघि बढाइएको छ ।

नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ । नेपाली सेनाको सहयोगमा अब बेलिब्रिज जडानको काम अघि बढाइने भएको छ ।

त्यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माणसमेत अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिए । 

दुवैतर्फको कामलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा जाने–आउने यातायात प्रभावित हुँदै आएको थियो ।

Share News