काठमाडौं । रुपन्देहीमा २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिला पक्राउ परेकी छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गहनासहित काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो ।
असोज १४ गते राति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गरेको थियो । जाँचका क्रममा पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरका सुनजस्ता देखिने विभिन्न गहना बरामद गरिएको थियो ।
बरामद गहनाको परीक्षण तथा परिमाण यकिनका लागि असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। परीक्षणबाट उक्त धातु १ किलोग्राम शुद्ध सुन रहेको पुष्टि भएको छ । यसको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेकी पटेललाई बरामद सुनका सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ ।
बरामद गहनामा ९ वटा हार, ८१ वटा औँठी, १३ वटा चुरा, ४ वटा माला, हसुली किसिमका ८ वटा सिक्री, पत्थरसहितका २० वटा झुम्का, २४ वटा झुम्का, १४ वटा गोली औँठी, १ वटा लकेट, १७ वटा पोते, २४ वटा सिक्रीलगायत छन् ।
त्यस्तै १८८ जोर बाली तथा जुली, ६४ जोर पत्थरसहितका टप, २२ वटा नाकको फूली, २ वटा पत्थरवाला हार, १० वटा साना झुम्का, ११ जोर कानको बाली र ८ वटा ब्रासलेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।