काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोटमा पार्टीका केन्द्रीय सदस्यदेखि पूर्वमन्त्री, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य र प्रदेश तहका पदाधिकारीसम्मका नेताहरू पराजित भएका छन् ।
कांग्रेसले यसपटक पार्टीको केन्द्रीय नेतृत्वमा रहेका नेताहरूले समेत निर्वाचित प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था गरेपछि विभिन्न जिल्लामा भएको निर्वाचनमा स्थापित नेताहरू नै प्रतिनिधि बन्नबाट रोकिएका हुन् ।
नेपाली कांग्रेसको निर्वाचन समितिले हालसम्म सार्वजनिक गरेको विवरण अनुसार केन्द्रीय सदस्य उमेशजंग रायमाझी, गंगा सुनार, विशेष महाधिवेशनको बन्दसत्रका अध्यक्ष श्यामकुमार खड्का, पूर्वमन्त्री तारिणीदत्त चटौत, संविधानसभा सदस्य तथा बागमती प्रदेश कांग्रेसका उपसभापति चन्द्र महर्जन, निवर्तमान प्रदेशमन्त्री उर्मिला केसी नेपाल प्रतिनिधि बन्न सकेनन् ।
रायमाझी पनि महाधिवेशन प्रतिनिधिमै रोकिए
कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि बन्ने दौडमा पराजित भएका छन् ।
भोजपुरबाट खुलातर्फ उम्मेदवारी दिएका रायमाझी ४१६ मतमा रोकिएको निर्वाचन समितिले जानकारी दिएको छ । खुलातर्फबाट प्रतिनिधि छनोटका लागि भएको प्रतिस्पर्धामा उनी निर्वाचित हुन नसकेका हुन् ।
रायमाझी १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी कांग्रेसको खेलकुद विभाग प्रमुखसमेत हुन् ।
पार्टीको पछिल्लो आन्तरिक समीकरणमा रायमाझी लामो समय शेरबहादुर देउवा पक्षमा रहेका थिए । पछिल्लो समय भने पार्टीको संस्थापनको आह्वानअनुसार गगन थापा नेतृत्वको समूहमा समाहित भएका थिए ।
केन्द्रीय सदस्य सुनार प्रतिनिधिमै रोकिइन्
काठमाडौं–५ बाट कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार दलित क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी थिइन् । उनी निर्वाचित हुन नसकेको क्षेत्रीय निर्वाचन समितिले जानकारी दिएको छ । उक्त क्लस्टरबाट मेनुका भुसाल निर्वाचित भएकी छन् ।
सुनार गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन् । केन्द्रीय सदस्य भए पनि यसपटक निर्वाचित प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्थाका कारण उनी क्षेत्रीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।
काठमाडौं–५ मै विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता गरेका ज्येष्ठ नेता श्यामकुमार खड्का पनि प्रतिनिधि बन्न सकेनन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित क्लस्टरबाट उम्मेदवार बनेका खड्काले १०१ मत पाएका थिए ।
सोही क्लस्टरबाट ठाकुरप्रसाद पुडासैनी १३२ मतसहित निर्वाचित भएका छन् । खड्का १४औं महाधिवेशनमा यही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
पूर्वमन्त्री चटौतको प्रतिनिधि बन्ने प्रयास असफल
कञ्चनपुर–३ बाट पूर्वमन्त्री तारिणीदत्त चटौत पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । खुला पुरुषतर्फ १० जना प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा चटौतले २४३ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त क्लस्टरबाट बहादुरसिंह थापा ४२० मतसहित निर्वाचित भएका छन् ।
ललितपुर–२ मा प्रदेशका तीन नेता बाहिर
ललितपुर–२ मा कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जन महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । त्यस्तै, बागमती प्रदेशकी निवर्तमान मन्त्री उर्मिला केसी नेपाल र कांग्रेस ललितपुर–२ का क्षेत्रीय सभापति महेश खड्का पनि प्रतिनिधि छनोटमा पराजित भएका छन् ।
यस क्षेत्रको परिणामले प्रदेश तहको नेतृत्वमा रहेका नेताहरूलाई समेत महाधिवेशन प्रतिनिधि छनोटमा प्रतिस्पर्धा सहज नभएको देखाएको कांग्रेस ललितपुरका एक नेताले जानकारी दिए ।
बाँके–२ मा प्रदेशसभा सदस्यहरूलाई धक्का
बाँके–२ मा पनि लुम्बिनी प्रदेशका वर्तमान तथा निवर्तमान प्रदेशसभा सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर महिला क्लस्टरतर्फ २१५ मत पाएर पराजित भइन् । सोही क्लस्टरबाट उमा थापा मगर ४३६, रेनुसिंह ठकुरी ४११, नारायणी रुपाखेती ३४९ र कल्पना रेग्मी ३०९ मतसहित निर्वाचित भएका छन् ।
दलित क्लस्टरतर्फ प्रदेशसभा सदस्य सुशीला नेपाली वादीले २३६ मत पाएर पराजित हुँदा उक्त क्लस्टरबाट मैकुलाल बाल्मिकी ३३० मतसहित निर्वाचित भएका छन् । निवर्तमान प्रदेशसभा सदस्य याकुव अन्सारी पनि बाँके–२ बाट प्रतिनिधि चयनमा पराजित भएर महाधिवेशन प्रतिनिधि बन्नवाट रोकिएका छन् ।
प्रतिनिधि छनोटमै देखियो प्रतिस्पर्धा
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भइरहेको प्रतिनिधि छनोटमा देखिएका यी परिणामले पार्टीको आन्तरिक निर्वाचनको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
यसपटकको व्यवस्थाअनुसार केन्द्रीय तहका नेतासमेत सम्बन्धित क्षेत्रबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने हुन्छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पार्टीको पदाधिकारी वा केन्द्रीय सदस्यको हैसियतले मात्रै महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित हुने अवस्था छैन । त्यसको प्रत्यक्ष प्रभाव क्षेत्रीय अधिवेशनका परिणाममा देखिएको कटुवालले जानकारी दिए ।
केन्द्रीय सदस्यदेखि प्रदेश नेतृत्व र पूर्वमन्त्रीसम्मका नेताहरू प्रतिनिधिमै रोकिँदा कांग्रेसको १५औं महाधिवेशनमा प्रतिनिधि छनोटको चरण नै महत्त्वपूर्ण शक्ति परीक्षणका रूपमा देखिएको छ ।
अझै देशभरका सबै क्षेत्रको परिणाम आइनसकेकाले प्रभावशाली नेताहरूको पराजयको संख्या अझै थपिन सक्नेछ ।