सेवा सुधारमा उत्कृष्ट अस्पताललाई मन्त्रालयले पुरस्कृत गर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका सबै सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट नतिजा हासिल गर्ने अस्पताललाई पुरस्कृत गर्ने जनाएको छ । मन्त्रालयले अस्पताललाई निकट भविष्यमा सम्मान तथा पुरस्कृत गर्ने योजना बनाएको जनाएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारको पहिलो प्राथमिकतामा अस्पताल सेवाको सुधार राखिएको थियो । सोही निर्णयअनुसार अस्पताल सेवा सुधार कार्यविधि, २०८२ कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।

कार्यविधि लागू भए पनि अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर, नागरिकमैत्री सेवा र व्यवस्थापनमा अपेक्षित सुधारका लागि थप पहल आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । यही पहलअन्तर्गत उत्कृष्ट अस्पताल छनोट गरी प्रोत्साहन गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । अस्पतालहरूले सेवा प्रवाहलाई जनअपेक्षाअनुरूप सुधार गर्दै उत्कृष्ट कार्यसम्पादन देखाउनुपर्ने सूचनामा उल्लेख छ ।

उत्कृष्ट अस्पताल छनोटको मुख्य उद्देश्य सरकारी अस्पतालबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र नागरिकलाई प्रभावकारी तथा उत्तरदायी सेवा उपलब्ध गराउनु रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अस्पताल तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

‘सबै अस्पताल एवं कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन मन्त्रालय प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ ।

Share News