काठमाडौं । ग्रीस (युनान) मा जंगलमा लागेको डढेलो निभाउने क्रममा आइतबार दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा डेनमार्कका एक पाइलट र ग्रीसको अग्निनियन्त्रण सेवाका एक सम्पर्क अधिकारी (लायजन अफिसर) को ज्यान गएको हो ।
अर्का बेलायती पाइलट र एक ग्रीक समन्वयकर्ता सामान्य घाइते भएका छन् ।
राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा पर्ने क्षेत्रमा अटिका–बोयोटिया सीमामा लागेको भीषण डढेलो नियन्त्रण गर्ने अभियानका क्रममा दुवै हेलिकोप्टर आकाशमै ठोक्किएका हुन् ।
घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा एउटा हेलिकोप्टर अर्कोमा ठोक्किएको देखिन्छ । ठक्करपछि एउटा हेलिकप्टरमा आगलागी भई नजिकैको खोँचमा खसेको थियो भने अर्को हेलिकप्टरले आपतकालीन अवतरण गर्न सफल भएको थियो ।
ग्रीक अग्निनियन्त्रण सेवाका अनुसार दुर्घटनापछि एउटा हेलिकप्टरका दुवै चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको थियो ।
तर अर्को हेलिकप्टरमा रहेका दुई जनालाई बेहोस अवस्थामा निकालिएको र पछि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
ग्रीसमा भीषण डढेलो फैलिएसँगै ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पोर्टो जर्मेनो, पसाथा, फोकिडा, मेगारा र केफालोनियासहित विभिन्न क्षेत्रमा विगत ७२ घण्टादेखि ५०० भन्दा बढी दमकलकर्मी आगो नियन्त्रणका लागि संघर्षरत छन् ।