खेर जाने गहुँको छाली अब आम्दानीको आधार, लुम्बिनीका महिलालाई एडभान्स तालिम

काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छाली (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ । 

लुम्बिनी विकास कोष र युएनडीपीको सहयोगमा आयोजित यस तालिमले खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेको छ । 

यसअघि गत पुस महिनामा १५ दिने आधारभूत तालिम सम्पन्न भइसकेकोमा त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै अहिले तीन महिने दोस्रो चरणको (एडभान्स) तालिम सुरु गरिएको हो । 

काठमाडौंबाट आएका ३५ वर्ष लामो अनुभव प्राप्त प्रशिक्षक सीताराम गोसाईंले प्रशिक्षार्थीहरूलाई छालि कलाको प्राविधिक पक्षबारे तालिम दिइरहेका छन् ।

प्रशिक्षक गोसाईंका अनुसार पहिलो चरणको तालिममा छालीलाई कागजमा टाँसेर बनाइने सामान्य ‘२–डी’ कला सिकाइएको थियो । अहिले सञ्चालन भइरहेको दोस्रो चरणको तालिममा भने ‘३–डी’ प्रविधिमार्फत चित्रहरूलाई जीवन्त र यथार्थपरक बनाउने कला सिकाइँदैछ । 

प्रशिक्षार्थीहरूले बुद्धका आँखा, धर्मचक्र, गौतम बुद्धको शीर, मायादेवी मन्दिर र बुद्धको बज्र जस्ता बुद्ध दर्शनसँग सम्बन्धित विभिन्न कलाकृतिहरू निर्माण गर्न सिकिरहेका छन् । 

प्रशिक्षक गोसाईंले लुम्बिनीका उपहार पसलहरूमा विदेशी, विशेषगरी चिनियाँ सामग्रीको बाहुल्यता रहेको उल्लेख गर्दै स्थानीय स्रोत र साधनको प्रयोग गरी बनाइएका सामग्रीले लुम्बिनीको मौलिकता झल्काउने बताए ।

उनले भने, ‘विगतमा किसानले गहुँको छालीलाई महत्त्व नबुझेर जलाउने वा नष्ट गर्ने गर्दथे । अब यसलाई प्रशोधन गरी कलात्मक वस्तु बनाउन सकेमा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।’

तालिममा सहभागी स्थानीय निर्मलाकुमारी चौधरीले पहिलो चरणको १५ दिने तालिमबाटै आफूहरूले व्यावसायिक रूपमा काम गर्न थालेको बताए । 

उनका अनुसार पहिलो चरणको तालिमपश्चात नै सहभागीहरूले पाँच सयदेखि १ हजार २ सय रुपैयाँसम्मका सामग्री विक्री गरी आम्दानी गर्न सफल भएका छन् । 

छालीको करी उचित सदुपयोग गरेर आर्ट बनाउन सकिन्छ भनेर उनले बताइन् । १५ दिनमा आफूले धेरै कुराहरु सिकेको उनको भनाइ छ । 

गौतम बुद्धको आँखा, कर्मचक्र लगायतका आर्टहरू गहुँको छालीबाट बनाउन सिकाएको चौधरीले बताइन् ।

उनले भने, ‘पढेर मात्र तत्काल रोजगारी पाउन कठिन हुने अवस्थामा यसरी हातमा सीप हुँदा घरमै
 बसेर पनि केही गर्न सकिने आत्मविश्वास पलाएको छ ।’

अर्की एक प्रशिक्षार्थीले आफ्नो हातमा सीप लिएर अरूलाई सिकाउने चाहना रहेको बताए । आफू कृषिको विद्यार्थी रहेको र तालिमबाट केही सीप सिकेर आत्मनिर्भर बन्ने चाहना रहेको बताए । 

तालिममा छालीलाई कसरी सङ्कलन गर्ने, त्यसलाई कसरी खोक्रो र नरम बनाउने तथा दीर्घकालीन रूपमा सुरक्षित राख्ने प्राविधिक विषयमा पनि प्रशिक्षण दिइएको छ । 

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूका लागि यहाँको स्थानीय उत्पादनलाई प्रमुख ‘कोसेली’ का रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको हो । 

यस तालिमले घरमा फुर्सदिला रहेका महिलाहरूलाई उद्यमी बनाउनुका साथै लुम्बिनीको सांस्कृतिक र धार्मिक पहिचानलाई हस्तकलाका माध्यमबाट विश्वभर चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । –न्युज एजेन्सी नेपाल

Share News