काठमाडौं महानगरका लागि ७३७ जना प्राथमिक उपचारक तयार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार गरेको छ ।

रेडक्रसको प्राविधिक सहयोगमा काठमाडौं  महानगर पालिकाका ३२ वटै वडामा सञ्चालन गरेको आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार भएका हुन् । 

तालिम प्राप्त जनशक्तिमा महिला ५७१ र पुरुष १६६ रहेका छन् ।

शुक्रबार तालिमको समीक्षा एवं प्रशिक्षकहरूलाई प्रशंसा पत्र हस्तान्तरणका गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति श्यामकाजी डोटेलले उपचारकहरू तयार गरिएको जानकारी दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, नेरेसो केन्द्रीय तदर्थ समितिका सदस्य प्रेम लामा, महानगर स्वास्थ्य विभाग प्रमुख दीपक कुमार के सी, नेरेसो बागमती प्रदेश महासचिव रामजी पौडेल, जिल्ला शाखा मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले तालिमका सम्बन्धमा आफ्ना अनुभव राखेका थिए । 

समीक्षा  कार्यक्रममा तालिमका सहभागी, प्रशिक्षक, उपशाखा प्रतिनिधिहरूले विभिन्न सुझावहरु राखेका थिए ।

महानगरसँग सम्झौतापश्चात् ९४ दिनको अवधिमा नेरेसो काठमाडौं जिल्ला शाखा महानगरका वडाहरू तालिम सञ्चालनका लागि परिचालन भएका १७ जना प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Share News