स्वस्थ शिशु प्रतिस्पर्धा हुँदै, सहभागी हुन १०० रुपैयाँ शुल्क

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । अस्पतालले निरन्तर सञ्चालन हुँदै आएको उक्त प्रतिस्पर्धा यस वर्ष भदौ ११ गते बिहीबार बिहान ९ बजे अस्पताल परिसरमा आयोजना गरिने जनाएको छ ।

अस्पतालका अनुसार यस अस्पतालमा जन्मिएका जन्मेदेखि एक वर्षसम्मका शिशुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेसम्म आवेदन दिनुपर्नेछ ।

प्रतिस्पर्धामा सहभागी हुन १०० रुपैयाँ फाराम शुल्क तिर्नुपर्नेछ । शुल्क बुझाएको भौचरसहितको फाराम अस्पतालको नगद काउन्टरबाट प्राप्त गरी ब्लक ‘ई’ (तेस्रो तल्ला) स्थित बालरोग ओपीडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट बुझाउन सकिने अस्पतालले जनाएको छ ।

प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका शिशुलाई भदौ १९ गते शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अस्पतालका अनुसार प्रतिस्पर्धा तीन उमेर समूहमा सञ्चालन हुनेछ । पहिलो समूहमा जन्मेदेखि ४५ दिनसम्मका शिशु, दोस्रो समूहमा ४६ दिनदेखि ६ महिनासम्मका शिशु तथा तेस्रो समूहमा ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशु सहभागी हुन सक्नेछन् ।

Share News