नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो, ९ महिनामै करिब १० हजार संक्रमित

काठमाडौं । नेपालमा स्क्रब टाइफसको संक्रमण पछिल्लो समय बढ्दै गएको पाइएको छ । 

सन् २०२६ को जनवरी १ देखि अक्टोबर १ सम्म देशभर ७४ जिल्लाका ९ हजार ९२३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो समय दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा, संखुवासभालगायत जिल्लामा स्क्रब टाइफसको संक्रमण बढी देखिएको छ । 

विशेषगरी सल्यानमा पछिल्लो एक महिनायता संक्रमणको संख्या उल्लेख्य देखिएको छ ।

सल्यानमा पछिल्लो एक महिनामा मात्रै २१९ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जसमध्ये दार्मा गाउँपालिकामा ११९ र कुमाख गाउँपालिकामा ८२ जना संक्रमित भेटिएका छन् । पछिल्लो एक सातामा मात्रै जिल्लामा ९२ जना नयाँ संक्रमित थपिएका छन ।

सल्यानमा संक्रमण बढेपछि अवस्थाको थप अनुसन्धान, वस्तुस्थिति अध्ययन तथा आगामी रणनीति तय गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहाल र डा. हेमराज पाण्डेको टोलीले स्थलगत अध्ययन गरेको छ । 

टोलीले दार्मा गाउँपालिकास्थित दार्माकोटमा स्थानीयसँग छलफल तथा अन्तक्र्रिया गर्दै जोखिम सञ्चारसम्बन्धी गतिविधि सञ्चालन गरेको थियो ।

कर्णाली प्रदेशबाट खटिएको टोली तथा स्थानीय स्वास्थ्य शाखासँगको समन्वयमा स्थानीय अवस्थाको मूल्यांकन गरी संक्रमण नियन्त्रणका लागि आवश्यक रणनीति तय गरिएको महाशाखाले जनाएको छ । 

यस क्रममा जिल्लाको ठूलो विद्यालयमध्ये एक जनज्योति माध्यमिक विद्यालय, फारुलाचौरका करिब ५०० विद्यार्थी तथा शिक्षकलाई स्क्रब टाइफसबारे अभिमुखीकरणसमेत दिइएको छ ।

यस्तै, कुमाख गाउँपालिकामा पनि स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसबारे अभिमुखीकरण दिइएको छ । 

रोगको निगरानी तथा पहिचानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक जानकारीसमेत प्रदान गरिएको महाशाखाले जनाएको छ ।

सल्यानमा स्क्रब टाइफसका कारण भएको हुनसक्ने भन्दै २२ वटा मृत्युका घटना जानकारीमा आए पनि ती सबै मृत्यु स्क्रब टाइफसकै कारण भएको पुष्टि नभएको किटजन्य रोग विशेषज्ञ डा. हेमराज पाण्डेले बताए । 

मृत्युका घटनाको थप अध्ययन तथा कारण पहिचान आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार स्क्रव टाइफर्सकै कारण हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

के हो स्क्रब टाइफस ? 

स्क्रब टाइफस ओरेन्सिया सुसुगामुशी नामक ब्याक्टेरियाका कारण हुने संक्रामक रोग हो । यो रोग नाङ्गो आँखाले देख्न नसकिने एक प्रकारको किर्ना अर्थात् ‘चिगर माइट’को टोकाइबाट मानिसमा सर्छ ।

स्क्रब टाइफस भएमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, कमजोरी महसुस हुनेलगायतका लक्षण देखिन सक्छन् । 

समयमै पहिचान र उपचार भएमा यसको उपचार सहजै गर्न सकिन्छ । सरकारी स्वास्थ्य संस्थामा यसको उपचारका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध हुने महाशाखाले जनाएको छ ।

त्यसैले लामो समयसम्म ज्वरो आउने, टाउको तथा शरीर दुख्ने जस्ता लक्षण देखिएमा घरमै बसेर औषधि सेवन गर्नुभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाह लिन महाशाखाले आग्रह गरेको छ ।

कसरी बच्ने ? 

स्क्रब टाइफसबाट बच्न घाँस, दाउरा, खेतबारी, जंगल तथा झाडीमा जाँदा शरीर पूरै ढाक्ने कपडा लगाउन र गमबुट वा जुत्ता प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । खेतबारी वा घाँस–दाउराको काम सकेपछि कपडा फेर्न तथा मनतातो साबुनपानीले नुहाउन पनि सुझाव दिइएको छ ।

सम्भव भएसम्म कीटनाशक तथा किरा भगाउने रिपेलेन्ट प्रयोग गर्न, घरवरिपरि मुसाको बासस्थान भए त्यसको निगरानी गरी नष्ट गर्न तथा घरवरिपरि सफा राख्न महाशाखाले आग्रह गरेको छ ।

ज्वरो आएमा तत्काल स्वास्थ्य संस्था जान र स्वास्थ्यकर्मीको सम्पर्कमा रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्क्रब टाइफसबारे थप जानकारी आवश्यक परे निःशुल्क फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
 

Share News