काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण र स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार अब बीमित परिवारले एचआईबीई पोर्टलमार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ ।
यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित गर्ने, दोहोरो आबद्धता नियन्त्रण गर्ने, केवाईसी अद्यावधिक गर्ने तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बोर्डले जनाएको छ ।
यसैगरी, बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी एक अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । सो कार्यदलले ६० दिनभित्र आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउनुपर्नेछ ।
बोर्डका अनुसार ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार मान्यता दिने निर्णय पनि भएको छ ।
यसको पहिलो चरणमा २ हजार १ सय ८९ वटा कस्टमाइज्ड आईसीडी ११ कोडलाई आईएमआईएसमा प्रयोग गरिनेछ ।